सबैभन्दा धनी दल एमाले, कांग्रेस २ करोड बढी घाटामा
काठमाडौं - संसदको दोस्रो ठूलो दल नेकपा एमाले आम्दानी र बचतको हिसाबमा सबैभन्दा धनी देखिएको छ ।
एमालेले गत आर्थिक वर्ष (२०८०/८१)मा १४ करोड ७९ लाख ५ हजार ८०९ रुपैयाँ आम्दानी गरेको छ । उसले ७ करोड ८५ लाख ३८ हजार ३ रुपैयाँ खर्च गरेको छ । यस हिसाबले एमालेसँग ६ करोड ९३ लाख ६७ हजार ८०६ रुपैयाँ बचत छ ।
निर्वाचन आयोगमा राजनीतिक दलहरुले बुझाएको आर्थिक वर्ष २०८०/८१ को आम्दानी र खर्चको विवरण हेर्दा अन्य दलहरुको तुलनामा एमाले सबैभन्दा धनी देखिन्छ ।
एमालेको मुख्य आम्दानीको स्रोत पार्टी सदस्यता शुल्क हो । एमालेले यो शीर्षकमा आर्थिक वर्ष २०८०/८१ मा कार्यकर्ताहरुबाट ११ करोड ५४ लाख ३० हजार ४३७ रुपैयाँ संकलन गरेको छ ।
दलहरुको आम्दानी र खर्चको विवरण हेर्दा संसद्को पहिलो दल नेपाली कांग्रेस, तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र, चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादी घाटामा देखिन्छन् ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा राजनीतिक दलहरुले आयव्ययको लेखा परीक्षण गर्नुपर्ने र परीक्षणको एक महिनाभित्र निर्वाचन आयोगमा प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था छ ।
सो व्यवस्थाबमोजिम गत माघ महिनाभित्र ८८ राजनीतिक दलहरुले आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदन (आम्दानी र खर्चको विवरणसहित) निर्वाचन आयोगमा बुझाएका छन् । जबकी सो आर्थिक वर्षमा ११५ दल आयोगमा दर्ता भएका थिए ।
कांग्रेस २ करोड बढी घाटामा
नेपालको पुरानामध्यको एक र अहिले प्रतिनिधिसभामा संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८०/८१ मा दुई करोड ५९ लाख आठ हजार ७७५ रुपियाँ आम्दानी गरेको छ । तर खर्च भने ४ करोड ९१ लाख ५६ हजार ३७५ रुपियाँ छ ।
यो हिसाबले नेपाली कांग्रेस अहिले २ करोड ३२ लाख ४७ हजार ६०० रुपियाँले घाटामा छ । कांग्रेसले अघिल्लो वर्ष २०७९/८० पनि घाटामा रहेको विवरण निर्वाचन आयोगमा पेश गरेको थियो ।
कांग्रेसको आम्दानीको प्रमुख स्रोत चन्दा हो । चन्दाबाट मात्रै उसले १ करोड ७३ लाख ९४ हजार ४३९ रुपियाँ संकलन गरेको थियो । सदस्यता, लेबी र नवीकरण शुल्कबाट भने ७१ लाख आम्दानी गरेको थियो । संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा १ करोड ८६ लाख ५३ हजार १४६ रुपैयाँ आम्दानी गरेको छ । यो आर्थिक वर्ष उसको आम्दानीभन्दा खर्च २ हजार ४४४ रुपैयाँ बढी छ ।
रास्वपाको आम्दानी भन्दा खर्च दोब्बर
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भने आम्दानीभन्दा झन्डै दोब्बर घाटामा छ ।
रास्वपाले २०८०/८१ मा ३ करोड ७९ लाख ५९ हजार ४८७ रुपियाँ आम्दानी गरेको छ । उसको खर्च भने ६ करोड ५० लाख १७ हजार ७८ रुपियाँ छ ।
यो हिसाबले रास्वपा २ करोड ७० लाख ५७ हजार ५९१ रुपैयाँ घाटामा छ ।
एकीकृत समाजवादी पनि घाटामा
नेकपा एकीकृत समाजवादीको पनि आम्दानीभन्दा खर्च बढी देखिन्छ ।
निर्वाचन आयोगमा बुझाएको विवरण हेर्दा एकीकृत समाजवादीले गत आर्थिक वर्षमा ४ करोड २४ लाख ५३ हजार ६९१ रुपियाँ आम्दानी गरेको छ । उसको खर्च भने ४ करोड ५७ लाख ४० हजार ८५४ रुपैयाँ छ ।
यो हिसाबले एकीकृत समाजवादी ३२ लाख ८७ हजार १६३ रुपैयाँ घाटामा छ ।
जनमत पार्टीले आर्थिक वर्ष आर्थिक वर्ष २०८०/८१ मा १ करोड १८ लाख ८१ हजार ९४३ रुपैयाँ आम्दानी गरेको छ । उसको खर्च १ करोड १९ लाख ११ हजार ३३३ रुपैयाँ छ । यो हिसाबले जनमत पार्टी २९ हजार ३९० रुपैयाँ घाटामा देखिन्छ ।