वीरगन्ज नाकाबाट सात महिनामा ४० अर्ब ३४ करोडको वस्तु तथा सामान निर्यात
वीरगन्ज - भन्सार नाका हुँदै चालू आर्थिक वर्षको सात महिनाको अवधिमा विरगन्जबाट ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार मूल्यबराबरका वस्तु तथा सामान निर्यात भएकाे छ ।
गत आवको सात महिनाको तुलनामा चालू आवको सोही अवधिमा नाकाबाट हुने निर्यात झन्डै दोब्बरभन्दा धेरै बढेको छ । गत आवको सात महिनाको अवधिमा यो नाका हुँदै १७ अर्ब सात करोड ९५ लाख ६० हजार मूल्यबराबरको वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको थियो ।
मुलुकभर रहेका साना–ठुला २८ भन्सार नाकामध्ये वीरगन्ज भन्सार नाका हुँदै भएको निर्यातको हिस्सा भने ३१.७२ प्रतिशत रहेको छ । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालू आवमा प्रशोधित सूर्यमुखी र भटमासको तेल निर्यात बढेसँगै समग्रमा निर्यात बढेको बताए । ‘गत आवको तुलनामा चालू आवमा निर्यातमा उत्साहजनक ढंगले वृद्धि हुँदै आइरहेको छ,’ उनले भने ।
वीरगन्ज भन्सार नाका हुँदै चालू आवको सात महिनाको अवधिमा १९ अर्ब ३६ करोड रुपैयाँ मूल्यको प्रशोधित भटमासको तेल निर्यात भएको छ । त्यस्तै, सोही अवधिमा चार अर्ब ६३ करोड मूल्य पर्ने प्रशोधित सूर्यमुखीको तेल निर्यात भएको छ ।
तीन अर्ब ९६ करोड मूल्य पर्ने फलफूलको जुस विदेशी मुलुकमा निर्यात भएको छ । त्यस्तैगरी तीन अर्ब १२ करोड मूल्य पर्ने फलाम तथा फलामका सामग्री निर्यात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।
एक अर्ब ६० करोड मूल्य पर्ने सिन्थेटिक यार्न र एक अर्ब ४७ करोड मूल्यबराबरको विभिन्न प्रकारका कपडा विदेशी मुलुकमा निर्यात भएको छ । सोही अवधिमा एक अर्ब २२ करोड मूल्य पर्ने पशु आहारको कच्चा पदार्थ पिना, चोकर, भुस निर्यात भएको छ ।