Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमाले सबैभन्दा धनी पार्टी बन्दा रास्वपाको घाटा २ करोड ७० लाख बढी, अरुको यस्तो छ

बिहीबार, फागुन १५, २०८१

काठमाडौं– प्रतिनिधि सभामा रहेका दलको आर्थिक बर्ष ०८०–८१ को आम्दानी र खर्चको विवरण प्राप्त भएको छ।

विवरणअनुसार सरकारको नेतृत्व गरिरहेको सदनको दोस्रो ठूलो दल नेकपा एमाले सबैभन्दा धनी बनेको छ।

एमालेले गत आर्थिक वर्षमा १४ करोड ७९ लाख ५ हजार ८०९ रुपैयाँ आम्दानी गरेको छ। उसले ७ करोड ८५ लाख ३८ हजार ३ रुपैयाँ खर्च गर्दा ६ करोड ९३ लाख ६७ हजार ८०६ रुपैयाँ बचत गरेको छ।

दलहरुले बुझाएको आम्दानी र खर्चको विवरण हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा घाटामा रहेको छ। उसको आम्दानीभन्दा खर्च दोब्बर रहेको छ।

एमालेको मुख्य आम्दानीको स्रोत पार्टी सदस्यता शुल्क हो। कार्यकर्ताहरुबाट ११ करोड ५४ लाख ३० हजार ४३७ रुपैयाँ संकलन गरेको छ।

दलहरुको आम्दानी र खर्चको विवरण हेर्दा संसद्को पहिलो दल नेपाली कांग्रेस, तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र, चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादी घाटामा छन्। 

सबैभन्दा कम घाटा माओवादीको छ।

सो व्यवस्थाबमोजिम गत माघ महिनाभित्र ८८ राजनीतिक दलहरुले आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन (आम्दानी र खर्चको विवरणसहित) निर्वाचन आयोगमा बुझाएका छन् । 

नेपाली कांग्रेसले गत आर्थिक वर्षमा दुई करोड ५९ लाख आठ हजार ७७५ रुपियाँ आम्दानी गरेको छ । तर खर्च भने ४ करोड ९१ लाख ५६ हजार ३७५ रुपियाँ छ।

यो हिसाबले नेपाली कांग्रेस अहिले २ करोड ३२ लाख ४७ हजार ६०० रुपियाँले घाटामा छ। 

संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले गत आर्थिक वर्षमा१ करोड ८६ लाख ५३ हजार १४६ रुपैयाँ आम्दानी गरेको छ। यो आर्थिक वर्ष उसको आम्दानीभन्दा खर्च २ हजार ४४४ रुपैयाँ बढी छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झन्डै दोब्बर घाटामा छ।

रास्वपाले ३ करोड ७९ लाख ५९ हजार ४८७ रुपियाँ आम्दानी गरेको छ। उसको खर्च भने ६ करोड ५० लाख १७ हजार ७८ रुपियाँ छ। यो हिसाबले रास्वपा २ करोड ७० लाख ५७ हजार ५९१ रुपैयाँ घाटामा छ।
 

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्