नेभिगेशन
सुरक्षा–अपराध

यी हुन् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलद्वारमा चार किलो सुन ल्याउनेहरू

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलद्वारमा झन्डै चार किलो सुन छिराउन खोज्दा पक्राउ गरिएकाहरुको परिचय खुलेको छ।

भन्सारबाट जाँचपास सकेर बाहिर निस्कने क्रममा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरीले उज्वेकिस्तानका तीन महिला र एक पुरुषलाई पक्राउ गरेको थियो। 

गुलामदजानोवान उमिदा अख्मेदोभ, सरदार टुर्सुनोभ, अखमदजनोवना डिल्फुजा मारिफालिव र इस्राइलोव्ना साओदत फैजिवालाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

उनीहरूको साथबाट प्रहरीले ३ किलो ७४५ ग्राम सुन बरामद गरेको जानकारी प्रहरीले दिएको छ।

भन्सार जाँच गरेर बाहिर निस्कने क्रममा शंका लागेर चेकजाँच गर्दा मलद्वारामा लुकाएको अवस्थामा सुन बरामद गरिएको प्रहरीले जनाएको छ।

फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट उनीहरु काठमाडौँ आएका थिए। उनीहरू भरिया भएको र सुन अर्कैले पठाएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

यस विषयको अनुसन्धान अझ गहिरोगरी गरिने बताइएको छ। दुबईबाट नेपाल हुँदै अन्यत्र सुन तस्करी हुने गरेको छ। नेपाल ट्रान्जिट बनाइएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध