शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक : प्रकाशमान सिंह
काठमाडौँ- उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् ।
बिहीबार ललितपुरमा नेपाल अंग्रेजी भाषा शिक्षक संघको २९औँ अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पाठ्यक्रम विकास, शिक्षक तालिम र नीति पैरवीमार्फत शिक्षाको गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास हुनुपर्ने बताएका हुन् ।
विगतभन्दा अहिले शिक्षाको क्षेत्रमा धेरै सकारात्मक परिवर्तन आएको भन्दै नेपालमै गुणस्तरीय शिक्षा लिन सक्ने अवस्था बन्नु सुखद रहेको सिंहको भनाइ छ ।
शैक्षिक नीति सुधारमा अंग्रेजी भाषा नीति र अंग्रेजी भाषा शिक्षाको क्षेत्रमा योगदान गर्न पनि संघलाई आग्रह गरे ।
‘नयाँ शैक्षिक नीतिहरूको निर्माण, पाठ्यक्रम विकास, शिक्षक तालिम र नीति पैरवी मार्फत शिक्षाको गुणस्तर वृद्धि गर्नु सामूहिक प्रयास हुनुपर्छ भन्ने मेरो मत छ । पाठ्यक्रम, सिकाइ सामग्री, शिक्षण विधिमा निरन्तर सुधार सुनिश्चित गर्न हामीले शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयसँग हात मिलाएर नै काम गर्नुपर्छ,’ उनले भने ।
सन् १९९२ मा स्थापना भएदेखि नै नेपालमा अंग्रेजी भाषा शिक्षालाई अगाडि बढाउन एसोसिएसनले खेलेको भूमिकाको उपप्रधानमन्त्री सिंहले प्रशंसा गर्दै देशको दुर्गम क्षेत्रमा अंग्रेजी भाषाको शिक्षा र सिकाइलाई अभिवृद्धि गर्नमा थप भूमिका खेल्न पनि आग्रह गरे ।
ललितपुरमा आजदेखि सुरु भएको सम्मेलन ३ दिनसम्म चल्ने आयोजकले बताएको छ ।