Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘जालन्धर’ शैलीका ट्रम्पले युक्रेनको खनिज लैजाने, जेलेन्स्कीलाई नेटोमा नलैजाने तथ्य यस्तो छ

बिहीबार, फागुन १५, २०८१

काठमाडौं– हिन्दू ग्रन्थमा एक जना शक्तिशाली जालन्धर रहेको उल्लेख छ। पौराणिक कथाका यी पात्र जस्तै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोमोदीर जेलेन्स्कीसँग सम्झौता गर्ने पक्कापक्की भएको छ।

जालन्धरका विषयमा संक्षिप्त ब्याख्या गरौं।

असुर जालन्धर हिन्दू पौराणिक कथामा उल्लिखित एक शक्तिशाली दैत्यराज थिए। 

उनलाई समुद्र मन्थनको समयमा जन्मिएको वा भगवान शिवका तेजबाट उत्पन्न भएको मानिन्छ। उनको शक्ति र वीरताको कारण देवगणहरू समेत उनलाई परास्त गर्न असमर्थ थिए। 

शिव पुराण अनुसार एक पटक भगवान शिव पार्वतीसँग कैलाश पर्वतमा रमाइरहेका बेला, समुद्रमा एक ज्वाला उत्पन्न भयो। यही ज्वालाबाट जन्मिएका बालकलाई समुद्रदेव वरुणले पाले, जसको नाम जालन्धर राखियो।

जालन्धर भगवान शिवकै तेजबाट जन्मेका थिए, त्यसैले उनी अपार शक्तिशाली भए। जालन्धर ब्रह्माको वरदानले अजेय थिए।

उनको शरीरमा कुनै पनि देवता वा दानवको अस्त्रले असर गर्दैनथ्यो। उनी मायावी थिए, जसले उनले देवताहरूलाई भ्रममा पार्न सक्थे।

अमेरिकी जनताको अपार मतको शक्तिबाट उदय भएका मायावी ट्रम्पले स्वार्थ पूरा गर्ने विषयको जानकारी सतहमा आएको हो। 

बीबीसीका अनुसार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राज्य अमेरिकासँग आफ्नो देशको खनिज स्रोत बाँडफाँट गर्ने एउटा सम्झौतामा

हस्ताक्षर गर्नका लागि शुक्रवार वाशिङ्टनमा आफूसँग भेटघाट गर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन्।

जेलेन्स्कीले यसलाई प्ररम्भिक द्विपक्षीय सम्झौताका रूपमा अथ्र्याएका र आफूले नयाँ रुसी आक्रमणलाई रोक्नका निम्ति सुरक्षा ग्यारेन्टी समावेश भएका थप सम्झौताहरू गर्न चाहेको जनाएका छन्।

तर ट्रम्पले अमेरिकाले “त्यस्तो... धेरै’’ सुनिश्चितता प्रदान नगर्ने भन्दै त्यो जिम्मेवारी युरोपको हुनुपर्ने बताएका छन्।

ट्रम्पले युक्रेन नेटोको सदस्य बन्ने सम्भावना पनि नकारेका छन्। नेटोको सदस्यता जेलेन्स्कीको महत्त्वाकाङ्क्षामध्ये पर्छ।

आफ्नो मन्त्रिपरिषद् बैठकमा बोल्दै बुधवार ट्रम्पले युक्रेनी भूमिमा ’रेअर अर्थ’ भनिने दुर्लभ खनिज पदार्थ निकाल्ने कार्यमा अमेरिकी कामदारहरूको उपस्थितिबाट युक्रेनले “स्वतः सुरक्षा’’ प्राप्त तर्क गरे।

नेटोमा सामेल हुने कुरा युक्रेनले “बिर्सिनुपर्ने’’ भन्दै ट्रम्पले युद्ध सुरु हुनुको एउटा कारण युक्रेनको उक्त चाहना भएको रुसी दाबी दोहोराएका थिए। 

उनले युक्रेन र रुसबीच युद्धविराम अब धेरै टाढाको कुरा नभएको बताए। ट्रम्पले पत्रकारसँग भने, “मानिसको हत्या रोक्न हामी रुस र युक्रेनसँग सम्झौता गर्दैँ छौँ।’’

तर जेलेन्स्कीले सुरक्षा सुनिश्चितता नभई युद्ध नरोकिने बताउँदै “हामी युद्धविराम गर्दैनौँ, केहीले काम गर्दैन, केहीले पनि।’’

“म नेटोमा जाने वा त्यस्तै केही मार्ग खोज्न चाहन्छु’’, जेलेन्स्कीले भनेका छन्।

रुसले युक्रेनलाई नेटो सदस्य बनाउने योजनाको निरन्तर विरोध गर्दै आएको छ। त्यसो हुँदा नेटोको फौजलाई आफ्नो सीमानजिक ल्याउने डर उसलाई छ।

ट्रम्पले युक्रेनमा युद्धविराम सम्झौताको एउटा हिस्साका रूपमा युरोपेली शान्तिसेना युक्रेनमा तैनाथ गर्न सकिने सुझाव दिएका छन् तर रुसले त्यसको विरुद्धमा छ।

जेलेन्स्कीले बुधवार साँझ आफ्नो सरकारले औपचारिक रूपमा समर्थन गरेको खनिजसम्बन्धी सम्झौताको सफलता यसै साता ट्रम्पसँग हुने बैठकको नतिजामा निर्भर हुने बताए।

उक्त सम्झौताका मुख्य विषयहरू अझै सार्वजनिक गरिएको छैन। तर युक्रेनका प्रधानमन्त्रीले युक्रेनको पुनर्निर्माणको लागि एउटा “लगानी कोष’’को परिकल्पना गरिएको

गत साता मात्रै ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई “निरङ्कुश“ भनेका थिए। उनले युक्रेनमा जारी युद्ध सुरु हुनुमा रुसको सट्टा युक्रेनलाई दोष लगाएका थिए।

युक्रेनका नेताले पाँच खर्ब डलरबराबरको खनिज सम्झौता अस्वीकार गरेपछि अमेरिकी राष्ट्रपति युक्रेनप्रति चिढिएका थिए।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले पनि अमेरिकी राष्ट्रपति ट्रम्पलाई रुसी “दुष्प्रचारबाट प्रभावित भएको’’ आरोप लगाएका थिए।

मस्कोले तीन वर्षअघि पूर्ण स्तरको आक्रमण गरेपछि अमेरिकाले गरिरहेको सैन्य र अन्य प्रकारका सहयोगको साटो युक्रेनी खनिजमा आफ्नो पहुँचका लागि अमेरिकाले युक्रेनलाई दबाव दिइरहेको बताइएको थियो।

तर जेलेन्स्कीले अमेरिकाले दाबी गरेभन्दा धेरै कम परिमाणको सहयोग आफूले पाएको बताउँदै “आफूले देश बेच्न नसक्ने’’ टिप्पणी गरेका थिए।

युक्रेनसँग मूल्यवान् खनिजहरूको ठूलो भण्डार छ। यो देशसँग खर्बौँ डलर मूल्य बराबरको लिथिअम तथा टाइटानिअमसँगै उल्लेख्य मात्रामा कोइला, ग्यास, तेल तथा युरेनिअम भण्डार छ।

गत सेप्टेम्बरमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना पश्चिमा साझेदारहरूलाई “विजय योजना“ प्रस्तुत गरेका थिए। यसमा उक्त देशका केही खनिजमा युद्धको अन्त्यमा पश्चिमा कम्पनीहरूलाई पहुँच दिइने प्रस्ताव थियो।

युक्रेन र उसका युरोपेली सहयोगी देशहरू पछिल्लो समय अमेरिका र रुसबीच बढ्दो सम्बन्धका कारण सजग भएका छन्। गत साता अमेरिका र रुसबीच साउदी अरबको रियादमा भएको पहिलो प्रत्यक्ष वार्ता भएको थियो।

आफ्नो देशलाई उक्त वार्तामा नडाकिएकोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले चिन्ता व्यक्त गरेका थिए।

उनीसँगै अरू युरोपेली देशहरूले पनि युद्ध अन्त्यका लागि हुने वार्तामा आफूहरूलाई अलग गर्न लागिएको चिन्ता व्यक्त गर्दै आएका छन्।

(बीबीसीको सहयोगमा समायोजित रिपोर्ट)
 

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १३:२८
प्रतिक्रिया दिनुहोस्