Nic Ad Nic Ad
Nic Ad Nic Ad

फाइनलमा फेरि चुकेको भन्दै कप्तान एन्जिलाले मागिन माफी

बिहीबार, फागुन १५, २०८१

काठमाडौं- बुधबार सम्पन्न अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा म्यानमारसँग हार व्यहोरेपछि कप्तान एन्जिला तुम्बापो सुब्बाले फ्यानहरूसँग माफी मागेकी छन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस राख्दै फाइनलमा फेरि चुकेकाले कप्तानको रूपमा सबै समर्थकहरूसँग माफी मागेकी हुन् ।

‘फेरि पनि, हामी फाइनलमा पुग्यौं तर चुक्यौं। कप्तानको रूपमा, म सबै समर्थकहरूसँग माफी माग्न चाहन्छु’ उनले लेखेकी छन्, ‘मैदानमा उपस्थित १६,००० दर्शकहरू र सधैं हामीलाई माया गर्ने करोडौं समर्थकहरू, हामी तपाईंहरूले अपेक्षा गरेको र चाहेको नतिजा दिन सकेनौं।’

उनले म्यानमारसँगको फाइनलमा आफ्नो गल्तीका कारण पहिलो गोल बेहोरेको पनि बताइन् । ‘म्यानमार हामीभन्दा धेरै बलियो टोली थियो। पहिलो हाफ राम्रो खेलेका थियौं, तर दोस्रो हाफमा मेरो पहिलो गोलको गल्तीका कारण गोल खान पुग्यौं’ उनले भनिन् ।

त्यसैगरी उनले आगामी दिनमा पनि समर्थकहरूबाट यस्तै माया, साथ र समर्थनको आवश्यकता रहेको बताइन् । ‘तपाईंहरूको समर्थनकै कारण महिला टोलीले यो पहिचान र अवसर पाएको छ। यसले हामीलाई अझ राम्रो गर्न प्रेरित गरेको छ’ उनले भनिन् ‘त्यसैले, आलोचनाभन्दा बढी, हामीलाई अझ धेरै अवसरहरू आवश्यक छन्। यस्तै प्रतियोगिताहरू र राम्रो संरचना भएको घरेलु महिला लिग आवश्यक छ।’

‘पछिल्लो वर्षमा हामीले तीन वटा फाइनल खेलेका छौं। यदि यस्ता प्रतियोगिताहरू निरन्तर भए, एक दिन हामी अवश्य उपाधि उचाल्नेछौं। हामीलाई मात्र तपाईंहरूको माया, साथ, र समर्थनको खाँचो छ’ उनले थपिन् ।

उनले यस प्रतियोगिता आयोजना गरी खेलाडीहरूलाई अवसर दिएकोमा अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी तथा सम्पूर्ण विभाग र टिम स्टाफलाई धन्यवाद पनि दिइन् ।

त्यसैगरी उनले खेलाडीहरूको आलोचना नगर्न पनि आग्रह गरिन् । सबैले सक्दो मेहेनत गरेको र नतिजा जस्तो भए पनि सबैको समर्पण प्रशंसनीय रहेको बताउँदै खेलाडीहरूलाई निरन्तर अगाडि बढ्न प्रेरित पनि गरेकी छन् ।

त्यसैगरी गोलकिपर अन्जना रानामगरले पनि फेरि एकपटक स्वर्ण मिस भएको भन्दै एकदिन फ्यानहरूको लागि अवश्य पनि स्वर्ण जिताउने विश्वास दिलाएकी छन् ।

बुधबार सम्पन्न भएको प्रतियोगिताको फाइनलमा म्यानमारसँग पराजित हुँदै नेपाल १३औं फाइनलमा पनि उपाधिबाट वञ्चित भएको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १४:१२
प्रतिक्रिया दिनुहोस्