कांग्रेसमा नयाँ सभापति र प्रधानमन्त्री बन्ने व्यक्तिबारे महामन्त्री शर्माले कसलाई सकेंत गरेका हुन्?
काठमाडौं– नेपाली कांग्रेसमा अहिले महाधिवेशनको चर्चासँगै सभापतिका उम्मेदवारका विषयमा पनि बहस छेडिएको छ। विभिन्न नवीन समूह बन्ने बनाउने अनि संस्थापन र त्यसइतरको शेखर कोइरालाको समूह त छँदै छ।
ति समूहमा आउने उतार चढाव र फेर बदलका कुरा मात्र होइन, नेतृत्वमा पुस्तान्तरणका विषय पनि अहिलेका बहस हुन्। समूहकै कुरा गर्दा कोइराला समूह नभएर त्यो आफूले खडा गरेको भन्ने महामन्त्री गगन थापाको दाबी आइसकेको छ।
यहि विषयमा अर्का महामन्त्री विश्प्रकाश शर्माले पनि केही सांकेतिक चर्चा सुरु गरेका छन्।
उनी भन्छन्,‘कांग्रेस कस्तो बन्ने र कांग्रेसमा को बन्नेभन्दा पनि महत्वपूर्ण प्रश्न समाजमा देखिएको असन्तुष्टि हो। समाजमा किन असन्तुष्टि छ?, हामी त्यसमा कति दोषी छौं?’
वितृष्णा चिर्दै नवीन आशा र नयाँ विश्वासको लहर सिर्जना कसरी गर्न सकिने चर्चा गरेका उनी जोड्छन्,‘महासमिति बैठकमार्फत यी प्रश्नको निरूपणले देश र कांग्रेसलाई पनि मार्ग दिन्छ।’
अहिलेको समय महासमितिबाट नीति, गति र मतिउपर साझा दृष्टि निर्माणको समय रहेको चर्चा गरेका उनले यो कर्ममा महामन्त्रीले संयोजन र सम्पादन गर्नुपर्ने विषयप्रति म सजग रहेको पनि बताएका छन्।
शर्मा कांग्रेसमा नेतृत्वको पुस्तान्तरणको बहस गर्नेमा पर्छन्। धेरै सम्भावनाबीच उनीसहित महामन्त्री थापा र स्वास्थ्यमन्त्री प्रदीप पौडेललगायतको समूह बन्न सक्ने पनि अपेक्षाकृत सवाल बनेको थियो।
यस विषयमा उनले खासै चर्चा नगरे पनि भनेका छन्,‘ दलहरूमा फरक विचार र समूह हुनु स्वभाविक हो।’
महामन्त्री शर्मालाई नेता शेखर कोइरालाले आफू पक्षिय पदाधिकारी र केन्द्रीय सदस्यहरूको मंगलबारको बैठकमा बोलाएका थिए। तर शर्माले उक्त भेलामा नजाने संकेत गरेका छन्। यसको अर्थ हो, सम्भावित समूहको तयारी पनि भइरहेको छ।
शर्मा ०७८ मा भएको १४ औं महाधिवेशनमा प्रकाशमान सिंह प्यानलबाट उम्मेदवार भई महामन्त्री निर्वाचित भएका थिए। गत वर्ष पुस ६ गते भएको संसदीय दल चुनावमा भने शर्माले अर्का महामन्त्री गगन थापालाई साथ दिएका थिए।
कांग्रेसभित्र पनि विभिन्न विचार समूह रहे पनि सिंगो संस्थाले नै विभिन्न विषयमा सार्थक बहस र तार्किक निष्कर्ष दिनुपर्ने उनले बताएका छन्।