Nic Ad Nic Ad
Nic Ad Nic Ad

मलद्वारमा झन्डै चार किलो सुन पक्राउ प्रकरणः भन्सार र एउटा सुरक्षा घेरा पार गरिसकेका थिए

शुक्रबार, फागुन १६, २०८१

काठमाडौं– झन्डै चार किलो सुन तीन महिलाले मलद्वारमा राखेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकोे भन्सार कार्यालय र भित्री सुरक्षा घेरा पार गरिसकेको विवरण प्राप्त भएको छ। 

भन्सारबाट जाँचपास सकेर बाहिर निस्कने क्रममा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरीले उज्वेकिस्तानका तीन महिला र एक पुरुषलाई पक्राउ गरेको नेपाल प्रहरीका विमानस्थल सुरक्षा प्रमुख बरिष्ठ उपरिक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले क्यानडा नेपाललाई जानकारी दिए। 

‘हामी शंकाको आधारमा उनीहरूलाई चेकजाँच गर्दा सुन ल्याएको पत्ता लगायौं, थप अनुसन्धानको काम पनि भैरहेको छ’, एसएसपी राठौरले भने,‘भन्सार र सशस्त्र प्रहरीको सुरक्षा घेराबाट छक्याएर निस्किसकेका थिए।’

गुलामदजानोवान उमिदा अख्मेदोभ, सरदार टुर्सुनोभ, अखमदजनोवना डिल्फुजा मारिफालिव र इस्राइलोव्ना साओदत फैजिवालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ। उनीहरू भरिया मात्र रहेको र तस्करीका लागि कुनै गिरोह नै सक्रिय रहेको हुन सक्ने प्रहरीको अनुमान छ। 

उनीहरूको साथबाट प्रहरीले ३ किलो ७४५ ग्राम सुन बरामद गरेको जानकारी प्रहरीले दिएको छ।

फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट उनीहरु काठमाडौँ आएका थिए। यसअघि पनि दुबईबाट त्रिभुवन विमानस्थल हुँदै सुन तस्करी हुँदै आएको छ। 

दुबईबाट आएको तस्करीको सबैभन्दा चर्चित प्रकरण भने चुडामणि उप्रेती र साढे ३३ किलो सुन हो।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १०:४०
प्रतिक्रिया दिनुहोस्