Nic Ad Nic Ad
Nic Ad Nic Ad
बहस

अन्तिम राजा ज्ञानेन्द्र हौसिनुका तीन कारण र राजनीतिक तरङ्गको अर्थ 

ज्ञानेन्द्रले केही गतिविधि गर्ने वा अहिलेको जस्तो अभिव्यक्ति दिनेबित्तिकै दलबीच ध्रुवीकरण हुने गर्छ
शुक्रबार, फागुन १६, २०८१

काठमाडौं– अन्तिम राजा ज्ञानेन्द्र शाहले हालै दिएको सन्देशका क्रममा सक्रिय हुने चाहना देखाउनुका मुख्य तीन करण पहिल्याइएको छ। अनि यसले राजनीतिक वृत्तमा तरङ्ग ल्याउनुका पछाडि अर्थ पनि छन्।

अन्तिम राजा हौसिनुका मुख्य तीन करणहरू मध्यको पहिलो हो, राजनीतिक दल र गणतन्त्रप्रति जनताको रोष।

गणतन्त्रका नाममा गद्दी छाडेको डेढ दशक बढी समय राजनीतिक दलले विकासको साटो भ्रष्टाचार र कुशासन चलाएपछि जनता रुष्ट छन्। यसैले पनि उनी त्यसलाई भावनात्मक रुपमा राजसंस्थाप्रति आकर्षण र गणतन्त्रप्रति विकर्षणको आधार दिन चहान्छन्। 

दोस्रो कारण हो राजसंस्थाको माग गरी विभिन्न अभियान र राजनीतिक दलका कार्यक्रममा जनताको सहभागीता अनि आफ्नै देशाटनका क्रममा देखिएका जनभावना पनि हुन्। 

अहिले दुर्गा प्रसाई राजसंस्था र हिन्दू राज्यको अभियान चलाइरहेका छन्। आम मानिस त्यसप्रति आकर्षित भएको प्रतीत हुन्छ। राप्रपाले पनि अहिले देशैभरी अभियान चलाएका बेला जनसमर्थन उपस्थिति बलियो रहेको छ। 

अर्कोचाहिँ ज्ञानेन्द्र आफ्नै देशाटनका क्रममा जनताले फर्किनका लागि गरेको आग्रह र न्यानो स्वागत पनि मानिन्छ। यसैकारण प्रजातन्त्र दिवसको छेको पारेर उनको अहिलेको राजनीतिक व्यवस्थप्रति असन्तोषसहितको शुभकामना सन्देश आएको थियो। 

तेस्रो कारणचाहिँ नेपालमा राज्यसत्ता उल्ट्याउनका लागि सहयोगी बनेको दक्षिणी छिमेकी भारतमा हिन्दूवादीको निरन्तर बिजय पनि हो। खासगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निकट मानिएका उत्तर प्रदेशका मुख्यमन्त्री तथा भारतका भावी प्रधानमन्त्रीका रुपमा हेरिएका योगी आदित्यनाथ ज्ञानेन्द्रप्रति निक्कै सहानुभूति राख्छन्। 

यसबेला राजसंस्थाको एजेन्डाको विषयले देश ताते दक्षिणी छिमेकीको मौन समर्थन रहन सक्ने उनको आँकलन रहेको छ।  

ज्ञानेन्द्र शाहप्रति गणतन्त्र पक्षधरहरूले सामाजिक सञ्जालदेखि संसद्सम्म आक्रोश व्यक्त गरिरहेका छन् भने राजसंस्था पक्षधरहरूले प्रशंसा गरिरहेका छन्।

राजसंस्थाको पक्षमा मत राख्दै आएका विश्लेषक भने “तत्कालै पूर्वराजा सक्रिय भइहाल्ने’’ अवस्था नदेखिएको बताउँछन्।

तर राजनीतिशास्त्रीहरू अहिलेको राजनीतिक प्रवृत्तिप्रति जनाताको निराशा बढेको भए पनि विकल्पमा राजसंस्था खोज्ने जमात व्यापक नदेखिएको ठान्छन्।

गत साता अर्थात् फागुन ७ गतेको पूर्वसन्ध्यामा पूर्वराजा शाहले प्रजातन्त्र दिवसका अवसरमा एउटा भिडिओ सन्देश जारी गरेका थिए।

झन्डै साढे १० मिनेट लामो भिडिओमा सन्देशमा उनले यसअघि दिने गरेका सन्देशहरूभन्दा केही भिन्न देखिने गरी आफूलाई साथ दिन पनि देशवासीलाई आह्वान गरेका छन्।

शाहले भनेका छन्, ‘देशका निम्ति, राष्ट्रका खातिर हाम्रो समर्पण, निष्ठा सदैव हुने छ। राष्ट्र रक्षाको निम्ति सबैको अनुशासन र इमान्दार प्रयत्न हुनु पर्दछ। हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ।’

सन्देशमा उनले देशको अस्तित्व र पहिचान नै सङ्कटमा पर्न लागेको भन्दै विगतका कमीकमजोरी सच्याएर अघि बढ्नु र्ने बताएका छन्।

शाहको सन्देश आएपछि विशेष गरी गणतन्त्र पक्षधर कतिपय नेताहरूले कडा प्रतिक्रिया दिएका छन् भने राजसंस्था पक्षधरले ती नेतालाई पनि कडै जबाफ फर्काएका छन्।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले एउटा टेलिभिजनसँगको कुराकानीमा शाहको अभिव्यक्ति अहिलेको संविधान अनुसार दण्डित हुने खालको रहेको बताएका थिए।

उनले शाहको अभिव्यक्तिले सीमा नाघ्दै गएको भन्दै सरकारले त्यसलाई गम्भीर रूपमा लिनुपर्ने र आवश्यक नियन्त्रण गर्नुपर्ने बताएका थिए।

तर भट्टराईको तिव्र आलोचना भयो। पत्रकार तथा अन्तरवार्ताकार भूषण दाहालसम्मले उनको आलोचना गरेका थिए। 

भट्टराईको भिडिओ आएलगत्तै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले भिडिओ सन्देश जारी गर्दै उनको अभिव्यक्तिलाई तुच्छ भनेका थिए।

शाहको अभिव्यक्तिलाई लिएर गता साता विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चाहिँ त्यसबारे बहस गर्नु नै उपयुक्त नभएको बताएका थिए।

संसद्का दुवै सदनका यसै साता भएका बैठकहरूमा पनि शाहको पछिल्लो अभिव्यक्तिले प्रवेश पायो।

त्यहाँ बोल्ने सत्ताधारी नेपाली कांग्रेस तथा नेकपा एमालेका सांसदहरूले उनको आलोचना गरे भने राजावादी दल राप्रपाका सांसदहरू उनको प्रतिरक्षा र गणतन्त्र पक्षधरहरूको आलोचनामा उत्रिए।

विश्लेषकहरू पूर्वराजाको एउटा आह्वानले नै राजनीतिक तरङ्ग उत्पन्न हुनुको मुख्य कारण उनी नभई गणतन्त्र स्थापनापछि बनेका सरकारहरू तथा वर्तमान नेताहरूको गल्ती कमजोरी रहेको बताउँछन्।

राजसंस्था पक्षधर मानिने वरिष्ठ पत्रकार तथा पत्रकारिताका प्राध्यापक पी खरेल भन्छन्, ‘यिनीहरू (गणतन्त्रवादी नेताहरू)को मन हल्लिएकै हो र त्यो आफ्नै कर्यक्षमता नभएकाले अनि राम्रो गर्न नसकेकाले हो।’

उनले छिमेकी देश बाङ्ग्लादेशको उदाहरण दिँदै भने, ‘चुनावबाट व्यापक अभिमत पाएको भनिएको दलप्रति पनि अधिकांश जनताको असन्तुष्टि हुन सक्छ।’

त्यसैले त्यहाँ निर्वाचित प्रधानमन्त्रीले चरम रूपमा अलोकप्रिय भएर देश छाड्नुपरेको उनको भनाइ छ। अन्तिम राजा ज्ञानेन्द्रको सम्बोधनमा नयाँ भनिएकाहरुले खासै टिप्पणी पनि गरेका छैनन्। यसलाई मौन समर्थनका रुपमा मान्न आवश्यक छ। 

त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्र केन्द्रीय विभागका प्रमुख ईश्वरीप्रसाद कँडेल पनि आफ्नै कमजोरीका कारण नेताहरूलाई ज्ञानेन्द्रको अभिव्यक्तिले चिन्तित बनाएको बताउँछन्।

राजसंस्था फर्किन सक्ने सम्भावनाहरु पनि छन् त? 

संविधान संशोधन गरेर राजसंस्था फर्काउन सकिने भए पनि राजसंस्था चाहने दलहरूले दुईतिहाइभन्दा बढी मत ल्याउने सम्भावना तत्काल छैन भन्ने विश्लेषण हुन्छ। तर, दुई तिहाई बहुमत राजावादीको आएको खण्डमा संविधानको प्रस्तावनादेखि सबै व्यवस्था परिवर्तन सम्भवप्रायः हुन सक्ने आँकलन पनि गरिन्छ। 

ज्ञानेन्द्रले केही गतिविधि गर्ने वा अहिलेको जस्तो अभिव्यक्ति दिनेबित्तिकै दलबीच ध्रुवीकरण हुने गर्छ। अहिलेजस्तै राजसंस्था पक्षधर र विपक्षी भएर दलहरू विभाजित हुँदा गणतन्त्रवादीहरू एक स्थानमा आउँछन् र चुनावमा उनीहरूको मत सबैभन्दा धेरै देखिन्छ।

ज्ञानेन्द्र शाहले विदेशीको सहयोग लिएर नेपाललाई अप्ठेरोमा पारेर राजसंस्था फिर्ता गराउन जनतालाई बाध्य पार्न सक्ने भए पनि त्यो अवस्था अहिले देखिएको छैन। उनी आफैँले पनि त्यो नचाहेको उनकै अभिव्यक्तिहरूबाट खुल्दै आएको छ।

संविधानविद्हरूका अनुसार अहिलेको संविधानअनुसार यदि कसैले दुईतिहाइ बहुमत ल्याएर राजसंस्था पुनस्र्थापना गर्न चाहेमा संवैधानिक रूपले त्यो असम्भव छैन।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्