Nic Ad Nic Ad
Nic Ad Nic Ad

भद्रपुर झापा गोल्डकपको उपाधि भद्रपुर ब्लेजर्सलाई

शुक्रबार, फागुन १६, २०८१

भद्रपुर- दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को उपाधि आयोजक भद्रपुर ब्लेजर्सले जितेको छ ।
  
मेची रङ्गशालामा आज भएको खेलमा झापा–११ लाई २–० को अन्तरले पराजित गर्दै ब्लेजर्सले उपाधि जितेको हो । उपाधिसँगै ब्लेजर्सले रु १३ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । यस्तै, उपविजेता झापा–११ ले सात लाख नगद रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
 
भद्रपुर ब्लेजर्सका लागि कप्तान आशिष चापागाईँ र सत्यम शर्माले गोल गरे । खेलको ३०औँ मिनेटमा गोल गर्दै चापागाईँले ब्लेजर्सलाई १–० को अग्रता दिलाए । 

यसैगरी दोस्रो हाफको इन्जुरी समयमा खेल सकिनै लाग्दा शर्माले गोल गर्दै ब्लेजर्सलाई २–० को जित दिलाए । झापा–११ ले खेल अवधिभर पाएका केही अवसरलाई गोलमा परिणत गर्न नसकेपछि उपविजेतामा चित्त बुझाउनुपर्‍यो ।

आजको खेलको प्लेयर अफ द म्याच ब्लेजर्सका विशाल दर्जी भए । उनले ट्रफीसहित नगद २१ हजार रुपैयाँ प्राप्त गरे ।
 
गोल्डकपमा सर्वोत्कृष्ट खेलाडी भद्रपुर ब्लेजर्सका आशिष चापागाईँ भए । उनले रु एक लाख पाँच हजार नगदसहित ट्रफी प्राप्त गरे । 

प्रतियोगिताको उदीयमान खेलाडी ब्लेजर्सका राजेश शाह, उत्कृष्ट गोलकिपर ब्लेजर्सका टेकेन्द्र थापा, उच्च गोलकर्ता ब्लेजर्सका सत्यम शर्मा, उत्कृष्ट प्रशिक्षक ब्लेजर्सका सचिन्द्र धिमाल भए । उनीहरू सबैले ट्रफीसहित नगद २५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १९:५९
प्रतिक्रिया दिनुहोस्