अक्टोबर ७ को घटनाको कारक इजरायली सेनाले हमास बारे गरेको गलत मूल्याङ्कन
काठमाडौँ - इजरायली सेनाको अनुसन्धान प्रतिवेदनले ७ अक्टोबर २०२३ को आतंकवादी आक्रमण यसको गलत मूल्याङ्कनका कारण भएको दाबी गरेको छ । समाचार एजेन्सी एपीको रिपोर्टका अनुसार इजरायली सेनाले प्यालेस्टिनी लडाकू संगठन हमासको क्षमतालाई कम आँकलन गरेक कारण सो घटना भएको रिपोर्टमा उल्लेख छ ।
बिहीबार सार्वजनिक भएको यो प्रतिवेदनपछि, प्रधानमन्त्री बेन्जामिन नेतान्याहूमाथि आक्रमण अघि गरिएका राजनीतिक निर्णयहरूको अनुसन्धान गर्न दबाब पर्ने विश्वास गरिएको छ ।
७ अक्टोबर २०२३ मा, हमासले इजरायलको सीमा क्षेत्रमा रहेको एक संगीत महोत्सवमा आक्रमण गरेको थियो । यस आक्रमणमा लगभग १२०० जना मारिएका थिए भने २५१ जनालाई बन्धक बनाइएको थियो । हमासले बन्धक बनाएका २५१ जनामा एक जना नेपाली विद्यार्थी विपिन जोशी पनि रहेका छन् ।
हमासले यस आक्रमणलाई 'अल-अक्सा फ्लड' अपरेशनको नाम दिएको थियो । प्रतिक्रियामा, इजरायलले केही घण्टा पछि हमासविरुद्ध अपरेशन सोर्ड्स अफ आइरन सुरु गरेको थियो ।
यस प्रतिवेदनमा इजरायली सेनाको मूल्याङ्कन हमासले केवल गाजामा शासन गर्न चाहेको र इजरायली सेनासँग लड्नु यसको प्राथमिक लक्ष्य नभएको रहेको उल्लेख गरिएको छ । इजरायली सेनाले गरेको हमासको क्षमताको गलत अनुमान नै अक्टोबर ७ को घटना भएको प्रतिवेदनमा उल्लेख छ ।
सेनाका अधिकारीहरूले सबैभन्दा खराब अवस्थामा पनि हमासले केवल आठ क्षेत्रबाट जमिन आक्रमण गर्न अनुमान गरेका थिए, जुन गलत थियो । जबकी हमाससँग आक्रमण गर्न ६० भन्दा बढी मार्गहरू रहेको पाइएको छ । ७ अक्टोबर २०२३ अघि पनि हमास तीन पटक आक्रमण गर्न तयार थियो, तर विभिन्न कारणले ढिलाइ भएको थियो, जसलाई इजरायली सेनाले नजर अन्दाज गरेको थियो ।
आक्रमण हुनुभन्दा केही घण्टा अघि केही गडबड भएको संकेत देखिएको थियो । हमासका लडाकुहरूले आफ्नो फोन इजरायली नेटवर्कमा स्विच गरेका थिए ।
इजरायली सैन्य अधिकारीहरूले अक्टोबर ७ मा भएको आक्रमणका मास्टरमाइन्ड याह्या सिनवार (जो गत अक्टोबरमा मारिएका थिए) ले २०१७ मा आक्रमणको योजना बनाउन थालेको गुप्तचर निकायले देखाएको बताएका छन् । प्रतिवेदनले इजरायली सेनाको अत्यधिक आत्मविश्वास र पूर्वकल्पित धारणाहरूमा अत्यधिक निर्भरता आक्रमणको लागि जिम्मेवार रहेको बताएको छ । प्रतिवेदनमा कुनै पनि सैनिक वा अधिकारीलाई दोषी ठहराइएको छैन ।
धेरै इजरायलीहरू अक्टोबर ७ को गल्तीको लागि नेतान्याहू जिम्मेवार छन् भन्ने विश्वास गर्छन् । मानिसहरू आक्रमण हुनुभन्दा पहिले पनि नेतान्याहूको सरकारले धेरै गलत निर्णयहरू गरेको अहिले पनि विश्वास गर्दछन् । अक्टोबर २०२३ मा सुरु भएको इजरायल हमास युद्धका कारण गाजामा बसोबास गर्ने २१ लाख मानिसहरू विस्थापित हुनुपरेको थियो । जबकि ४० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।
युद्ध पछि, गाजामा ९६ प्रतिशत कृषि स्रोतहरू नष्ट भएका छन् र ९१ प्रतिशत मानिसहरू भोकमरीको सामना गरिरहेका छन् । १६ प्रतिशत मानिसहरू अनिकाल जस्तो अवस्थामा बाँचिरहेका छन्, जबकि ४१ प्रतिशत जनसंख्याले गम्भीर खाद्यान्न अभावको सामना गरिरहेका छन् । अहिले गाजा पूर्णतया बाह्य सहायतामा निर्भर रहेको छ ।
जनवरी १९ मा दुवै पक्षबीच युद्धविराम सम्झौतामा हस्ताक्षर भएको थियो, जसमा दुवै पक्षले एकअर्काका बन्धकहरूलाई रिहा गर्न सहमति जनाएका थिए । यस युद्धविराम सम्झौता अन्तर्गत, बन्धकहरूको रिहाइ तीन चरणमा हुनेछ । जसको पहिलो चरण बुधबार सम्पन्न भएको छ ।