नेपालमा हुनुपर्ने छनोट खेल मलेसियामा सर्यो
काठमाडौं- त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुन: अयोग्य हुँदा नेपालले अर्को एक अन्तर्राष्ट्रिय खेल गुमाउने भएको छ।
एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत मलेसियासँगको नेपालले पहिलो लेग दशरथ रंगशालमा खेल्ने तय थियो।
मार्च २५ मा दशरथ रंगशालामा हुनुपर्ने यो खेल मैदान र सुरक्षाको कारण मलेसियाको जोहोरमा सरेको हो ।
एन्फाका एक पदाधिकारीका अनुसार यो खेल सुल्तान इब्राहिम स्टेडियममा हुने पक्का भएको छ।
‘एएफसीका प्रतिनिधिले धेरै पहिला नै रंगशालामा सुधार भए पनि सुरक्षालगायत अन्य कुरामा अझै योग्य नभएको रिपोर्ट दिएका थिए ।
यो कुरा राखेप सदस्यसचिव लगायतलाई पनि रिपोर्ट भएको थियो। अब यहाँ नहुने भएपछि मलेसियामै सर्ने निर्णय भएको हो,’ ती पदाधिकारीले भने।
छनोट खेल ‘होम एन्ड अवे’ का आधारमा हुनेछ। नेपालले मलेसियामा हुनुपर्ने खेल भने नेपालमा खेल्ने सहमति भएको उनको भनाइ छ।
नेपालले दशरथ रंगशाला र मैदानमा सुधार गर्न नसक्दा यसअघि पनि ‘होम एन्ड अवे’ खेल पटकपटक गुमाइसकेको छ। नेापलले फिफा विश्वकप छनोट २०२६ अन्तर्गतका खेल अरुकै मैदानमा खेल्न परेको थियो। नेपालले युएईसँगको खेल साउदी अरबमा खेलेको थियो। बहराइनसँगको दुबै खेल उसैको मैदानमा खेलेको हो।
एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत नेपालले मलेसियासँग खेलेपछि जुन १० मा लाओससँग खेल्ने छ। यो खेल लाओसमै हुने तय छ।
त्यस्तै, अक्टोबर १० मा नेपाल भियतनाम पुग्नेछ। त्यसको पाँच दिनपछि भियतनामले दशरथ रंगशालामा नेपालसँग प्रतिस्पर्धा गर्नेछ।
१८ नोभेम्बरमा नेपालले पुन: मलेसियासँग खेल्ने छ। त्यसपछि मार्च ३१ मा लाओससँग दशरथ रंगशालामा खेल्दै नेपालले छनोट यात्रा सक्काउने छ।