Nic Ad Nic Ad
Nic Ad Nic Ad

अन्तिम राजा ज्ञानेन्द्रको ‘पश्चिमाञ्चल’ भ्रमण तयारीमा शिव सेनाले के गरिरहेको छ?

राष्ट्रिय झन्डाको मुनी उभिएर ज्ञानेन्द्रको सन्देशअनुसार एकाकार हुन अपिल
शनिबार, फागुन १७, २०८१

काठमाडौं– नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाहको पोखरालगायतका गण्डकी प्रदेश (पूर्वपश्चिमाञ्चल) भ्रमणको तयारीमा शिव सेना नेपाललगायतका राजावादी शक्ति सक्रिय भएका छन्। 

त्यसको पूर्वतयारीअनुसार शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत बाबा र जगमान गुरुङबीच वार्ता समेत भइसकेको छ। शिव सेना नेपाल केन्द्रीय सचिवालयका अनुसार राजावादी शक्तिलाई एकाकार बनी राष्ट्रिय झन्डामुनी आउनका लागि अपिल गरिएको छ।

‘देशभन्दा ठूलो कोही हुँदैन केही हुँदैन’ भन्ने नाराका साथ ज्ञानेन्द्रको भ्रमणको तिव्र तयारी गरिएको छ। राजावादी राप्रपाले केही दिनअघि गरेको प्रदर्शनपछि हुन लागेको ज्ञानेन्द्रको भ्रमण अर्थपूर्ण रहेको विश्लेषण गरिएको छ।

‘श्री ५ महाराजधिराज सरकारको राष्ट्र बचाउने सन्देश पछि देशैभरी नेपाली जनतामा आस्था, विश्वास, भरोसासाथै सकारात्मक ऊर्जा प्रवाह भएको छ’, शिव सेना नेपालले भनेको छ,‘जब जब राष्ट्र संकटमा पर्दछ तब तब राजा सक्रिय हुनुपर्दछ। देश बचाउनको लागि यो हाम्रो राजसंस्थाको राजधर्म भएको कारणले श्री ५ महाराजधिराज सरकारको सन्देशलाई हामी नेपाली जनताले हृदयदेखि आत्मसाथ गर्दै देशैभरी अहिले भइरहेको राष्ट्र झण्डामा भएका सम्पूर्ण कार्यहरुलाई एक अर्कामा साथ दिएर नेपाली भएको पहिचान दिनु पर्दछ।’

देशभरीका शिव सैनिकहरूलाई राष्ट्रिय झण्डामुनि भएको कार्यक्रममा साथ सहयोग गरी आफ्नो कर्तव्य निभाउन शिव सेनाले निर्देशन समेत जारी गरेको छ। 

‘अहिले मुलुक गम्भिर अवस्थामा रहेको छ। बेथितिमा रहेको छ। विदेशीको एजेन्डाले ध्वस्त बनेका बेला राष्ट्र जोगाउन आवश्यक छ’, शिव सेना अध्यक्ष बस्नेतले क्यानडानेपालसँग भने,‘यसकारण राजाको अभिभावकत्वमा मुलुक अगाडि नबढी हुँदैन।’ प्रजातन्त्र दिवसका अवसरमा साताअघि ज्ञानेन्द्रले दिएको सन्देश र सम्बोधनका कारण अहिले राजसंस्था र हिन्दूवादी शक्ति जुर्मुराएका छन्।
 

प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  ११:३३
प्रतिक्रिया दिनुहोस्