युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई जब ह्वाइट हाउसमा ट्रम्पका अगाडि सोधियो– किन सुट नलगाएको?
काठमाडौं– अहिले एउटा प्रश्न र त्यसको उत्तरको भिडिओ विश्वमा चर्चामा छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र युक्रेनका भोलोदीमीर जेलेन्स्कीको भिडिओ। हुन त यो भेटका हरेक संवादका भिडिओ सार्वजनिक भएपछि चर्चामा छन्।
विश्व नै तरंगित हुने प्रकारको भेटवार्ताबारे विभिन्न कोणबाट टिप्पणी, विश्लेषण, सहानुभूती र आक्रोश देखाइएका छन्। यसबारेमा क्यानडा नेपालले पनि विभिन्न समाचार, विश्लेषण र टिप्पणी प्रकाशित गरिसकेको छ।
तर, एउटा भिडिओले फेरि चर्चा पाएको छ। युक्रेनको राष्ट्रपति निर्वाचित भइसकेपछि रसियाले जेलेन्स्कीको देशमा आक्रमण गरेको थियो। युद्धमा धेरै युक्रेनी मारिएपछि अनेक विश्वस्तरका बैठकमा पुग्दा जेलेन्स्की अनौपचारिक र युक्रेनको स्वतन्त्रता अंकित पोशाक मात्र लगाउँछन्।
यहि पोशाकबारे ह्वाइट हाउसमा एक जना पत्रकारले जेलेन्स्कीलाई सोध्छन्,‘तपाईले किन सुट नलगाएको? ह्वाइट हाउसको औपचारिक कार्यक्रममा आउँदा यस्तो पोशाक लगाउनु भनेको अपमान गर्नु सरह भएन र?’
जेलेन्स्की उत्तर दिन्छन्,‘युद्ध नसकिएसम्म म सुट लगाउनेवाला छैन। देश आक्रान्त भएको बेला सुट लगाउनु मेरो आत्माले दिँदैन। जुन दिन युक्रेनी जनता युद्धबाट मुक्त हुनेछन् अनि लगाउनेछु। त्यो सुट तपाईको जस्तो अथवा त्योभन्दा सस्तो वा महँगो पनि हुन सक्ला।’