महाकुम्भको सफल आयोजनापछि मोदी – ‘एकताको महाकुम्भ : नयाँ युगको सुरुवात’
काठमाडौ - पवित्र सहर प्रयागराजमा महाकुम्भ सफलतापूर्वक सम्पन्न भएको छ। एक महान एकताको महायज्ञ पूरा भएको छ।
जब कुनै राष्ट्रको चेतना जागृत हुन्छ, जब त्यो सयौं वर्ष पुरानो पराधीन मानसिकताको साङ्लोबाट मुक्त हुन्छ, तब त्यो नयाँ ऊर्जा लिएर स्वतन्त्र रूपमा श्वास फेर्छ। यही परिणाम हामीले जनवरी १३ देखि प्रयागराजको ‘एकताको महाकुम्भ’मा देख्यौं।
सन् २०२४ जनवरी २२ मा अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठाका क्रममा मैले देवभक्ति र देशभक्तिको बारेमा बोलेको थिएँ।
प्रयागराजको महाकुम्भमा देवीदेवता, सन्त, महिला, बालबालिका, युवा, जेष्ठ नागरिक तथा समाजका सबै वर्गका मानिसहरू एकत्रित भए। हामीले राष्ट्रको जागृत चेतना देख्यौं। १ अर्ब ४० करोड भारतीयको भावना एउटै स्थानमा, एउटै समयमा, एक पवित्र अवसरका लागि एक भएको हामीले एकताको महाकुम्भमा देख्यौँ।
एकता, सद्भावना र प्रेमको पवित्र भूमि प्रयागराज क्षेत्रमा श्रृंगवरपुर छ, जहाँ भगवान श्रीराम र निषादराजको भेट भएको थियो। उहाँहरूको भेट भक्ति र सद्भावनाको संगमको प्रतीक थियो। आज पनि प्रयागराजले हामीलाई त्यही भावनाले प्रेरित गरिरहेको छ।
मैले ४५ दिनसम्म देशका हरेक कुनाबाट करोडौं मानिसहरूलाई संगमतर्फ जाँदैगरेको देखेँ। संगममा भावनाको ज्वार उठिरहेको थियो। हरेक भक्त एउटै उद्देश्य लिएर आउनुभएको थियो- संगममा स्नान गर्ने। गंगा, यमुना र सरस्वतीको पवित्र संगमले प्रत्येक तीर्थयात्रीलाई उत्साह, ऊर्जा र आत्मविश्वासले भरिदियो।
प्रयागराजको यो महाकुम्भ आधुनिक व्यवस्थापनका पेसेवर र योजना तथा नीति विज्ञहरूका लागि अध्ययनको विषय हो। संसारमा कतै पनि यति ठूलो उदाहरण छैन।
प्रयागराजस्थित नदीहरूको संगममा करोडौं मानिसहरू कसरी भेला भए भनेर सारा विश्वले आश्चर्यचकित हुँदै हेरे। ती मानिसहरूलाई कुनै औपचारिक निमन्त्रणा थिएन, कुनै पूर्वनिर्धारित सूचना थिएन। तर पनि करोडौं मानिसहरू आफ्नै इच्छाले महाकुम्भमा आए र पवित्र जलमा डुबुल्की लगाएर दिव्य आनन्द महसुस गरे।
पवित्र स्नानपछि अपार हर्ष र सन्तोष झल्काइरहेका ती अनुहारहरू म कहिल्यै बिर्सन सक्दिनँ। महिला, जेष्ठ नागरिक, हाम्रा दिव्यज दाजुभाइ-दिदीबहिनीहरू सबैले कुनै न कुनै तरिकाले संगमसम्म पुग्ने बाटो फेला पारे।
विशेष रूपमा भारतीय युवाको अत्यधिक सहभागिता देखेर म हर्षित भएँ। महाकुम्भमा नयाँ पुस्ताको उपस्थिति एक गहन सन्देश हो- भारतका युवा हाम्रो गौरवशाली संस्कृति र परम्पराका वाहक बन्नेछन्। उनीहरू यसलाई जोगाउने आफ्नो जिम्मेवारी बुझेका छन् र यसलाई अगाडि लैजान प्रतिबद्ध पनि देखिन्छन्।
प्रयागराजमा महाकुम्भका लागि आएका मानिसहरूको सङ्ख्याले निस्सन्देह नयाँ कीर्तिमान बनाएको छ। तर यहाँ भौतिक रूपमा उपस्थित हुन नसकेका करोडौं मानिसहरू पनि भावनात्मक रूपमा यस अवसरसँग गहिरो रूपमा जोडिए।
तीर्थयात्रीहरूले घर फर्कँदा ल्याएको पवित्र जल करोडौं मानिसहरूका लागि आध्यात्मिक आनन्दको स्रोत बन्यो। महाकुम्भबाट फर्किएका धेरैलाई त गाउँमा सम्मानपूर्वक स्वागत नै गरियो।
पछिल्ला केही हप्तामा भएका कुराहरू अद्वितीय छन् र यसले आउँदा शताब्दीसम्मका लागि जग बसाएको छ।
प्रयागराजमा कसैले अनुमान गरेभन्दा धेरै भक्तजनहरू आएका थिए। प्रशासनले अघिल्लो कुम्भको अनुभवका आधारमा अनुमान लगाएको थियो।
अमेरिकाको जनसंख्याको लगभग दोब्बर मानिसहरू यस एकताको महाकुम्भमा सहभागी भए।
यदि आध्यात्मिक विद्वानहरूले करोडौं भारतीयहरूको यस उत्साही सहभागिताको अध्ययन गरे भने उनीहरूले आफ्नो धरोहरमा गर्व गर्ने भारत अब नयाँ ऊर्जा लिएर अगाडि बढिरहेको पाउनेछन्। मलाई लाग्छ यो नयाँ युगको सुरुवात हो, जसले नयाँ भारतको भविष्य लेख्नेछ।
हजारौं वर्षदेखि महाकुम्भले भारतको राष्ट्रिय चेतनालाई बलियो बनाउँदै आएको छ। प्रत्येक पूर्णकुम्भमा सन्त, विद्वान र विचारकहरू भेला भएर समाजको अवस्था माथि चर्चा गर्थे। उनीहरूको विचारहरूले राष्ट्र र समाजलाई नयाँ दिशा दिन्थ्यो।
प्रत्येक छ वर्षको अर्धकुम्भमा यी विचारहरू पुनः मूल्यांकन गरिन्थ्यो। १२ पूर्णकुम्भ अर्थात् १४४ वर्षपछि, पुराना परम्पराहरू परित्याग गरिन्थ्यो, नयाँ विचारहरू अंगालिन्थ्यो भने समयअनुसार अगाडि बढ्नका लागि नयाँ परम्पराहरू स्थापित गरिन्थ्यो।
१४४ वर्षपछिको यस महाकुम्भमा हाम्रा सन्तहरूले फेरि एकपटक भारतको विकास यात्राका लागि नयाँ सन्देश दिएका छन्। त्यो सन्देश हो- विकसित भारत।
यस एकता महाकुम्भमा धनी होस् वा गरिब, युवा होस् वा वृद्ध, गाउँको होस् वा सहरको, भारतको होस् वा विदेशको, पूर्वको होस् वा पश्चिमको, उत्तरको होस् वा दक्षिणको, जात-धर्म र विचारधारा जे भए पनि हरेक तीर्थयात्री सबै एक भए। यो ‘एक भारत, श्रेष्ठ भारत’ को प्रतिक थियो, जसले करोडौं मानिसहरूमा आत्मविश्वास भरेको छ। अब हामी सबै मिलेर विकसित भारत निर्माण गर्ने लक्ष्यमा अघि बढ्नुपर्छ।
सानो बालक हुँदा भगवान श्रीकृष्णले आफ्नी आमा यशोदालाई आफ्नो मुखभित्र सम्पूर्ण ब्रह्माण्ड देखाएको म सम्झन्छु। त्यसैगरी, यस महाकुम्भमा भारत र विश्वले भारतको सामूहिक शक्तिको विशाल सम्भावना देख्यो। अब हामी यस आत्मविश्वासलाई कायम राखेर अघि बढ्नुपर्छ र विकसित भारत निर्माणका लागि समर्पित हुनुपर्छ।
भक्ति आन्दोलनका सन्तहरूले हाम्रो सामूहिक संकल्पको शक्ति पहिचान गरेका थिए। स्वामी विवेकानन्ददेखि श्री अरविन्दसम्म हरेक महान चिन्तकले हामीलाई सामूहिक संकल्पको शक्ति सम्झाएका थिए। महात्मा गान्धीले पनि स्वतन्त्रता आन्दोलनको समयमा यसको अनुभूति गरेका थिए। स्वतन्त्रतापछि यदि यो सामूहिक शक्ति राष्ट्र कल्याणका लागि सही रूपमा प्रयोग गरिएको भए हाम्रो नवस्वतन्त्र राष्ट्रका लागि यो ठूलो शक्ति बन्न सक्थ्यो। दुर्भाग्यवश, त्यो यसअघि हुन सकेन। तर अब म हर्षित छु कि मानिसहरूको सामूहिक शक्ति विकसित भारतका लागि एकत्रित हुँदैछ।
वेददेखि विवेकानन्दसम्म, प्राचीन ग्रन्थदेखि आधुनिक उपग्रहसम्म, भारतका महान परम्पराहरूले राष्ट्र निर्माणमा सहयोग छन्। एक नागरिकका रूपमा म हामी हाम्रा सन्त र पूर्वजहरूको सम्झनाबाट नयाँ प्रेरणा लिन सकौँ भनेर प्रार्थना गर्छु। एकताको महाकुम्भले हामीलाई नयाँ संकल्पका साथ अघि बढ्न मद्दत गरोस्। हामी एकतालाई आफ्नो मार्गदर्शक सिद्धान्त बनाऔं। राष्ट्रसेवालाई नै परम सेवा ठानेर अघि बढौं।
काशीमा मेरो निर्वाचन अभियानको समयमा मैले भनेको थिएँ, ‘मलाई माँ गंगाले बोलाउनु भएको छ।’ यो केवल भावनात्मक कुरा मात्र थिएन, यो हाम्रो पवित्र नदीहरूको सफाइप्रति जिम्मेवारीको आह्वान पनि थियो। प्रयागराजमा गंगा, यमुना र सरस्वतीको संगमस्थलमा उभिँदा मेरो संकल्प अझ बलियो बन्यो। हाम्रो नदीहरूको सफाइ हाम्रो जीवनसँग गहिरो रूपमा जोडिएको छ। ठूलै होस् वा सानो, हामीले नदीहरूको सम्मान गर्नुपर्छ। यस महाकुम्भले हामीलाई आफ्ना नदीहरूको सफाइका लागि निरन्तर काम गर्न प्रेरित गरेको छ।
यति विशाल आयोजन गर्न कुनै सजिलो काम थिएन भन्ने म जान्दछु। यदि हाम्रो भक्ति र समर्पणमा कुनै कमी रह्यो भने म माँ गंगा, माँ यमुना र माँ सरस्वतीसँग क्षमा माग्न छु। म जनतालाई जनार्दनको स्वरूपमा देख्छु। यदि तिनीहरूको सेवा गर्ने हाम्रो प्रयासमा कुनै कमी रह्यो भने, म जनतासँग पनि क्षमा माग्दछु।
करोडौं श्रद्धालुहरू भक्तिभावका साथ महाकुम्भमा सहभागी भए। उहाँहरूको सेवा गर्नु पनि एउटा जिम्मेवारी थियो, जसलाई सोही भक्तिभावका साथ पूरा गर्यौँ। उत्तर प्रदेशको सांसदको रूपमा म गर्वका साथ भन्छु कि योगीजीको नेतृत्वमा प्रशासन र जनताले मिलेर एकताको महाकुम्भलाई सफल बनाउनु भयो। राज्य सरकार होस् वा केन्द्र सरकार, यहाँ कुनै शासक वा प्रशासक थिएनन्, सबै एक समर्पित सेवकका रूपमा कार्यरत थिए। सरसफाइ कर्मचारी, प्रहरी, माझी, चालक, भोजन प्रदान गर्नेहरू सबैले अहोरात्र परिश्रम गरे। प्रयागराजका जनताले तिर्थयात्रुहरूलाई गरेको स्वागत पनि विशेष रूपमा प्रेरणादायी छ। म उहाँहरू र उत्तर प्रदेशका जनताप्रति हृदयदेखि कृतज्ञता व्यक्त गर्दछु।
राष्ट्रको उज्ज्वल भविष्यप्रति मेरो विश्वास सधैं अटल छ। यस महाकुम्भको दर्शन गरेर मेरो यो विश्वास अझ बलियो बनेको छ।
एकताको महाकुम्भलाई १ अर्ब ४० करोड भारतीयहरूले जुन रूपमा विश्वव्यापी अवसरमा रूपान्तरण गरे, त्यो साँच्चै अद्भुत छ। जनताको समर्पण, भक्ति र प्रयासले मलाई अत्यन्तै प्रभावित गरेको छ। त्यसैले म चाँडै नै १२ ज्योतिर्लिङ्गहरूमध्ये पहिलो श्री सोमनाथको दर्शन गर्न जाँदैछु। जहाँ म यी सामूहिक राष्ट्रिय प्रयासहरूको फल अर्पण गर्नेछु र हरेक भारतीयको कल्याणको लागि प्रार्थना गर्नेछु।
महाशिवरात्रिमा महाकुम्भको भौतिक रूप सफलताका साथ सम्पन्न भएको छ। तर गंगाको अनन्त प्रवाहझैं महाकुम्भले जागृत गरेको आध्यात्मिक शक्ति, राष्ट्रिय चेतना र एकताले हामीलाई पुस्तौंसम्म प्रेरित गरिरहनेछ।
(नरेन्द्र मोदी डट इनमा प्रकाशित सामग्रीको भावानुवाद)