Nic Ad Nic Ad
Nic Ad Nic Ad

जनयुद्धका बेलामा जस्तै जनताका पीर मर्का बुझ्नमा चुक्यौं : प्रचण्ड

आइतबार, फागुन १८, २०८१

धनुषा- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसीलगायत देशका उत्पीडित समुदायको अधिकार र पहिचान स्थापित गर्न सबभन्दा बढी त्याग माओवादीले गरेको बताएका छन् ।

धनुषाको कमला नगरपालिका–३ पर्सामा आयोजित सहिद परिवार सम्मान तथा जनभेटघाटमा उनले यस्तो धारणा राखे।

महिला, जनजाति, दलित, मधेसी, मुस्लिम, थारुलगायत उत्पीडित जनताको मुक्तिका लागि हजारौं सहिदले बलिदान गरेको र मधेसी जनताको मुक्तिका लागि एक हजार तीन सय मधेसी जनताका छोराछोरीले जनयुद्धमा बलिदान गरेको उनले बताए । मधेसी जनताको मुक्तिका लागि यति ठूलो बलिदान गरेको माओवादीकै विषयमा अनेकथरि भ्रम सिर्जना गर्ने प्रयास गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब यो भ्रमको पर्दा च्यातेर माओवादी र मधेसी जनताबीच दह्रो एकता कायम गर्ने प्रयास गरिएको बताए । अध्यक्ष प्रचण्डले जनयुद्धको बेलामा जस्तै जनताका पीर मर्का बुझ्नमा विगतमा केही चुकेको बताएका छन् ।

मधेसी जनताको मुक्तिका लागि मधेसी राष्ट्रिय मुक्ति मोर्चा गठन गरेर मधेसी जनतामा जागरणको लहर ल्याउने, मधेस स्वायत्त जनसरकारमार्फत संघीयताको व्यवहारिक अभ्यास गर्ने, संविधानमार्फत संघीयत, समानुपातिक र समावेशी प्रतिनिधित्व स्थापित गर्ने, गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिको रुपमा रामराजाप्रसाद सिंहलाई अघि सार्ने र मधेसको विकासका लागि प्राथमिकताका साथ बजेट विनियोजन गर्ने लगायत महत्त्वपूर्ण काम आफ्नै पार्टीले गरेको उनले स्पष्ट गरे ।

अध्यक्ष प्रचण्डले अब आफूलाई मधेशका मसिहा ठान्ने दलहरूबाट मधेसी जनताको मुक्ति सम्भव नभएकाले मधेसमुक्तिको जिम्मा सम्पूर्णरुपमा माओवादीले नै लिने प्रतिबद्धता व्यक्त गरे । पार्टीका सबै पदाधिकारी अहिले मधेसमा रहेको र मधेसी पोशाकमै प्रस्तुत भएको प्रसङ्ग कोट्याउँदै उनले यो पोशाक मात्रै नभई आफूहरूको मन पनि मधेसमा छ भन्ने बिम्ब भएको उनले स्पष्ट गरेका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १२:३९
प्रतिक्रिया दिनुहोस्