मैले नेतृत्व गरेँ भने काँग्रेसलाई संस्थागत र मजबुत बनाउँछु : प्रकाशमान सिंह
सुर्खेत- नेपाली काँग्रेसका नेता तथा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले पार्टीको महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको बताएका छन्।
आइतबार सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीभित्र आन्तरिक छलफल चलिरहेको र विधानअनुसार महाधिवेशन सम्पन्न गरिने बताएका हुन्।
पार्टीको आन्तरिक संरचना मजबुत बनाउन आवश्यक रहेको उल्लेख गर्दै मन्त्री सिंहले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि हामीले राजनीतिक स्थायित्वका लागि विभिन्न चुनौती सामना गरिरहेका छौँ । अहिले सरकारको काम मूल्यांकन गर्ने प्रक्रिया अघि बढिरहेको छ, जसमा मन्त्रालयहरूले कत्तिको प्रभावकारी रूपमा काम गरेका छन् भन्ने अध्ययन भइरहेको छ।’
उनले हालै सरकारले सार्वजनिक गरेको बजेट अनुसारका विकास योजनाहरूलाई तीव्र गतिमा कार्यान्वयन गरिनुपर्ने बताए । ‘काम चमत्कारिक र द्रुत रूपमा सम्पन्न गर्नुपर्छ भन्ने हाम्रो सोच हो । परिस्थिति हेर्दा सेवा प्रवाह सहज बनाउन अध्यादेश ल्याउनु आवश्यक भएको हो,’ उनले थपे।