रुपन्देहीमा महिला सहकर्मीलाई प्रेमसहित यौन प्रस्ताव राखे, नमानेपछि निर्मम हत्या गरे
काठमाडौं– रुपन्देहीको तिलोत्तमा नगरपालिकाका एक जना पुरुषले महिला सहकर्मीलाई प्रेमसहित यौन प्रस्ताव राख्दा नमानेपछि निर्मम तरिकाले हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
प्रहरीले हत्या आरोपी तिलोत्तमा नगरपालिका वडा नं १२ का अजय भनिने ४२ वर्षीय अमिरिका थारूलाई नौ दिनपछि पक्राउ गरेको छ।
दाङको लमही नगरपालिका वडा नं ७ की संगिता चौधरीलाई प्रेम प्रस्ताव गरेको तर नमानेपछि निर्मम तरिकाले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको हो।
फागुन ८ गते अमिरिकाले संगिताको हत्या गरी फरार भएका थिए। दुवै जना मजदुरी काम सकेर एक होटलमा बसेको र त्यसपछि माया प्रेमका कुरा भएपछि ती महिलाले अस्वीकार गरेपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानले खुलेको प्रहरी अधिकारीको भनाई छ।
बुटवल उपमहानगरपालिका९ वडा नं ११ कालिकापथमा साथीहरूसँग बसेर ज्याला मजदुरी गर्दै आएकी संगीता चौधरीको शव गत फागुन ८ गते रुपन्देहीको सियारीस्थित बेथरी सडकखण्डको किनारमा फेला परेको थियो।
उनको टाउको र अनुहारमा ढुंगा प्रहार गरी नचिनिने गरी हानेको अवस्थामा सडक किनारमा परालको थुप्रोले ढाकेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। यस घटनाको अनुसन्धान कुकुरको सहयोगमा गरिएको थियो।
संगीता सम्बन्ध बिच्छेद गरेर बसेको र अमिरिका पनि परिवारमा तनाव भएर बसेका व्यक्ति हुन्।
सम्बन्ध विच्छेद गरेकी संगिता र अमेरिकाले सँगै मादक पदार्थ पिएर होटलमा बसेका थिए। अनुसन्धानमा यौन प्रस्ताव अस्वीकार गर्दा ढुंगाले हानेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग भएका दुई थान ढुंगा, मृतकले प्रयोग गर्ने मोबाइल, कालो टोपी, चप्पल लगायत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका थारूलाई जिल्ला अदालत रूपन्देहीबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।