Nic Ad Nic Ad
Nic Ad Nic Ad

विभागीय मन्त्रालयलाई चुनौती दिएका कुलमान घिसिङलाई अर्को शक्तिले सोध्ने भयो स्पष्टीकरण

सोमबार, फागुन १९, २०८१

काठमाडौं– विभागीय उर्जा मन्त्रालयले स्पष्टीकरण सोध्न नसक्ने जवाफ दिएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अर्को शक्तिले स्पष्टीकरण लिने भएको छ।

त्यो शक्ति भनेको उनको नियुक्ति गरेको मन्त्रिपरिषदको बैठक हो। उर्जामन्त्री दीपक खड्काले घिसिङलाई स्पष्टीकरण सोध्ने प्रस्तावसहित मन्त्रिपरिषदमा उपस्थिति जनाउने भएका हुन्। 

विभागीय मन्त्रीले पाँचपटक स्पष्टीकरण माग्दा पनि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई जिम्मेवारीबाट हटाउन नसकेपछि अब मन्त्रिपरिषद्बाटै स्पष्टीकरण माग्ने तयारी गरिएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उनलाई स्पष्टीकरण लिन मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने तयारी गरेको हो। मन्त्रालयले पछिल्लोपटक स्पष्टीकरण माग्दै पठाएको पत्रको जवाफमा कुलमानले ऊर्जामन्त्रीसँग स्पष्टीकरण लिने र कारबाही गर्ने कानुनी अधिकार नरहेको तर्क गरेका थिए। 

छलफलका क्रममा मन्त्रालयले मागेको स्पष्टीकरणकै आधारमा कारबाही गर्दा कुलमान अदालतको आदेश लिएर पुनः बहाल हुन सक्ने निष्कर्ष निकालिएको छ।

कार्यसम्पादन मूल्यांकन समितिका संयोजक ऊर्जा मन्त्रालयका सहसचिव जिवछ मण्डलले माघ १८ गतेको पुरानो मिति राखेर शून्य नम्बर दिने निर्णय गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ।

कुलमान स्वयंले भने आफूलाई ९८ नम्बर दिनुपर्ने दाबी गरी मन्त्रालयमा फाराम बुझाएका थिए। तीन वर्षको औसत निकाल्दा पनि ९५ प्रतिशत हाराहारी प्राप्तांक हुन्छ। कार्यसम्पादन मूल्यांकनबारे कुलमानलाई भने अहिलेसम्म जानकारी दिइएको छैन।

मन्त्रिपरिषदको बैठक सोमबार बस्न सक्छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले भने अहिलेसम्म मन्त्रिपरिषदको बैठ डाक्ने विषयमा केही जानकारी दिएको छैन। ओली सोमबार एउटा पुस्तकको विमोचन र दशरथ रंगशालामा हुने कार्यक्रममा सहभागीत जनाउने विषय निधो भएको सचिवालयले जनाएको छ।
 

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १०:०९
प्रतिक्रिया दिनुहोस्