चुनावमा बहुमत ल्याउने तयारीमा लाग्न नेता कार्यकर्तालाई सभापती देउवाको निर्देशन
काठमाडौँ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अघिल्लो पटकको भन्दा धेरै सिट जित्ने गरी चुनावको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
चुनावमा एउटा मात्र दलले बहुमत ल्याउने परिस्थिति नभएको भन्दै उनले अघिल्लो चुनावमा भन्दा बढी सिट जित्नुपर्ने विचार राखेका हुन् ।
प्रतिनिधि सभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरूको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई आज सम्बोधन गर्दै देउवाले सो धारणा राखेका हुन् ।
उनले पार्टीमा केही असहमति भए त्यसलाई छलफल गरेर समाधान गर्नुपर्ने र पार्टीलाई जीवन्त बनाइराख्नुपर्ने बताए । ‘हामी बीचमा कतिपय कुरा नमिलेका हुन सक्छन् । यी सबै कुराहरूलाई आपसमा छलफल गरेर हाम्रो पार्टीलाई जीवन्त र भाइब्रेन्ट पार्टीका रूपमा अगाडि बढाउन सक्नुपर्दछ,’ देउवाले भने ।
उनले वर्तमान सरकार सफल हुने दाबी समेत गरेका छन् । सत्तामा प्रमुख दल काँग्रेस-एमाले भए पनि अन्य दलको पनि सहभागी हुने राम्रो कुरा भएको बताए ।
देउवाले भने, ‘अरु पार्टीका साथीहरू पनि सरकारमा समावेश हुनुभएको छ । अत्यन्तै राम्रो कुरा हो ।’
नेपालको शासन प्रणाली लोकतान्त्रिक र समावेशी भएको देउवाले बताए । लोकतान्त्रिक व्यवस्थामा प्रतिपक्ष दल आवश्यक हुने उनले बताए ।