प्रचण्डले भने- कांग्रेस र एमालेसँग मिल्दा रोग सर्यो, उपचार खोज्न जनतामा आयौँ
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुराना दलको सहकार्यले उनीहरु भित्रको रोग माओवादीमा पनि संक्रमण भएकाले रोगको उपचार खोज्न जनताको बिचमा आएको बताएका छन्।
जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत धनुषाको हंसपुर नगरपालिकामा आयोजित जागरण तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
कहिले कांग्रेस र कहिले एमालेसँग सहकार्य गर्दागर्दै उनीहरूको रोग माओवादीभित्र पनि देखिन थालेकाले पार्टीभित्र विभिन्न तहका परामर्श बैठकबाट रोग पहिचान गरेर यसको उपचार गर्ने डाक्टर जनता मात्रै हुन भन्ने निष्कर्षसहित उपचार खोज्न जनताको बिचमा आएको बताए।
माओवादीप्रति विश्वास गरेका लाखौँ लाख जनताको विश्वास कायम राख्न नसक्नु कमजोरी भएको उल्लेख उनले सबैभन्दा पहिले आफ्ना कमीकमजोरी सच्याएर जनतातिर फर्कन केन्द्रीय समिति बैठकले दिएको निर्देशनअनुसार पार्टीको सन्देश बोकेर यो अभियान थालिएको बताए।