विद्या भण्डारी प्रमुख अतिथि, केपी ओली विशेषः सपना, संघर्ष र संकल्पको ‘ब्रान्डिङ’
काठमाडौं– लेखक, पत्रकार, कुटनीतिका विज्ञ र प्रशासनिक यन्त्रका अनुभवीलगाय ६५ जनाले प्रधानमन्त्री केपी शर्मा ओलीका विविध दक्षता र क्षमताबारेमा टिप्पणी गरेको पुस्तक ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’को सोमबार लोकार्पण गरिएको छ।
पत्रकार गणेश पाण्डे सम्पादित पुस्तक लोकार्पण कार्यक्रमको प्रमुख अतिथि थिइन् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र विशेष अतिथि थिए प्रधानमन्त्री ओली।
राष्ट्रिय सभाको हलमा भएको कार्यक्रममा ओलीले नौमति बाजा बजाउने कोशिश गरेका थिए जसले एक मोडलाई रोमाञ्चित बनाउने प्रयास भएको थियो।
प्रायः यस्ता कार्यक्रममा लामो प्रवचन दिने ओलीले सोमबार भने अरुका प्रवचन सुने र आफू केही नबोली कार्यक्रमबाट विदा भएका थिए।
कार्यक्रममा ओलीको सपना, संघर्ष र संकल्पको ब्रान्डिङको कोशिश गरिएको छ। जहाँ कुटनीतिज्ञ निलाम्बर आचार्यदेखि टिप्पणीकार कनकमणि दिक्षित, कृष्णमुरारी भण्डारीलगायतले ओलीका विविध पक्षका बारेमा टिप्पणी गरेका थिए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालदेखि बैंकर अशोक शेरचनसम्मले कविता र गद्दमा ओलीको प्रशंशा गरेका थिए भने एमाले महासचिव शंकर पोखरेलले आगामी नेतृत्व पनि ओलीको नै रहने संकेत गरे।
पोखरेलले भने,‘किताबले संकल्प भनेको छ। यसको अर्थ हुन सक्छ, ०८४ मा पनि अध्यक्षको नेतृत्व खाँचो रहेको छ।’
कार्यक्रमकी प्रमुख अतिथि विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष ओली कुशल रणनीतिकार रहेको टिप्पणी गरिन्।
ओली अडान र निष्ठाको प्रतिमूर्ति, आवश्यकता अनुसार व्यवहारमा अधिकतम लचकता अपनाउन सक्ने खुबी भएको तथा एउटा कुशल रणनीतिकार समेत रहेको भण्डारीको टिप्पणी थियो।
‘नेकपा एमालेको आन्तरिक जीवनलाई लोकतान्त्रीकरण गर्न कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन, तथा उत्पन्न हुने गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ तुल्याउन उहाँले निर्वाह गरेको भूमिकाको सराहना गर्दछु’, भण्डारीले भनिन्, ‘साथै भविष्यमा समेत यस किसिमको रचनात्मक पहलकदमी अग्रसरता कायम राख्दै नेपाली कम्युनिस्ट आन्दोलनलाई थप एकताबद्ध बनाएर सफलताको अर्को सिँढी उकाल्न उहाँबाट ठुलो योगदान पुग्ने नै छ।’