राप्रपा नेपालले राजसंस्था पुनर्स्थापना गर्न जनदबाब दिने
काठमाडौं– राप्रपा नेपालले हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि जनदबाब सिर्जना गर्ने निर्णय गरेको छ ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकमार्फत् राप्रपा नेपालले हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि जनदबाब सिर्जना गर्ने निर्णय गरेको हो ।
‘भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउन, हिन्दुराष्ट्र र राजसंस्था पुनः स्थापना गर्न, संघीयता खारेज गर्न, धर्म परिवर्तन अन्त्य गर्न, मिटर ब्याज र सहकारीबाट पीडितहरूलाई राहत प्रदान गर्न, भ्रष्टाचार नियन्त्रण गर्न तथा देशभित्र रोजगारीको सिर्जना गर्न राप्रपा नेपालले जनपरिचालन र जनदबाब कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ,’ महामन्त्री राजाराम बर्तौलाले भने ।
उनका अनुसार उक्त कार्यक्रम अन्तर्गत राप्रपा नेपालले आगामी चैत १ मा देशका सम्पूर्ण जिल्लाका सदरमुकाममा जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना र प्रदर्शन गर्ने भएको छ । कार्यक्रम अन्तरगत नै राप्रपा नेपालले चैत ८ र ९ गते हेटौँडामा साविकको मध्यमाञ्चल क्षेत्रस्तरीय भेला र प्रशिक्षण आयोजना गर्ने छ ।
चैत १४ देखि १८ सम्म काठमाडौं उपत्यकाका १० वटै निर्वाचन क्षेत्र र पालिकाहरू समावेश हुने गरी ‘साँखुदेखि चाँगुनारायण जनजागरण यात्रा’ सञ्चालन गरिने महामन्त्री बर्तौलाले जानकारी दिए ।
उनले चैत २२ गते राष्ट्रिय सभा गृहमा संयोजित संगठन समन्वय विभागको आयोजनामा जनवर्गीय संगठनहरूको संयुक्त भेला गरिने र चैत २६ गते काठमाडौंमा वृहत् जनप्रदर्शन गरिने पनि निर्णय भएको बताए ।
राप्रपा नेपालले पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौं फर्किँदा फागुन २५ गते दिउँसो २ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थल गेट अगाडि पार्टीका सबै नेता, कार्यकर्ता, शुभचिन्तक र आम जनसमुदायमा उपस्थितिका लागि आग्रह गर्ने निर्णय पनि गरेको छ ।
राप्रपा नेपालले हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापना तथा संघीयता खारेजीका निम्ति जुनसुकै दल र समूहले गर्ने संघर्षका कार्यक्रममा पार्टीको नैतिक समर्थन जनाउने समेत निर्णय गरेको छ ।
तर, कुनै एक पार्टी वा समूहको झण्डा वा ब्यानर प्रयोग गरेर गरिने कार्यक्रममा भने राप्रपा नेपाल सहभागी नहुने महामन्त्री बर्तौलाले जानकारी दिए ।
‘राष्ट्रिय झण्डा र साझा व्यानरमा आयोजना हुने संघर्षका कार्यक्रममा राप्रपा नेपालको पूर्ण सहयोग र सहभागिता रहने छ,’ उनले भने ।