नेभिगेशन
मनोरञ्जन

केमियोको सौम्य प्रयोगमा मानक बनाएको 'लाज शरणम्'

तपाईले 'लाज शरणम्' हेर्नु भएको छ भने यो लेखमा जुन केमियोको कुरा गर्न लागिएको छ, तपाईले बुझिसक्नु भएको हुन सक्छ । यदि तपाईले 'लाज शरणम्' हेर्न बाँकी छ भने तपाईलाई फिल्ममा जे मिठो आश्चर्य प्राप्त हुन सक्थ्यो, त्यो नहुन सक्छ । यसैले फिल्म हेर्न बाँकीले कहाँसम्म मात्र लेख पढ्नुहोस् भनेर लेखमा बताइनेछ, ध्यान दिनुहोला । ताकि फिल्ममा केमियोको मिठो आश्चर्यको मजा लिन पाउनुहोस् । 

'लाज शरणम्' को केमियोमा प्रवेश गर्नु भन्दा अगाडि विगतमा नेपाली फिल्मले प्राय: गरेका केमियोको अभ्यासहरू स्मरण गराउन चाहन्छु । 

कुनै समय राजेश हमालको थियो, पोस्टरमा जति धेरै राजेश हमाल देखाउन सक्यो, हलमा दर्शकको चाप त्यहि अनुपातमा बढ्थ्यो । यसैले यति धेरै फिल्महरू यस्ता पनि आए जहाँ राजेश हमालको फिल्मका कुनै भुमिका हुन्थेन । केवल केमियोकोरूपमा प्रयोग भएका हुन्थे । 

तर केहि सेकेन्ड केमियोमा देखिएका फिल्ममा पनि राजेश हमालको ठुलो टाउकोले पोस्टरको धेरै हिस्सा ओगट्थ्यो । राजेश हमाल हेर्न हल पुगेका दर्शकहरू खिन्न भएर हलबाट निस्किन्थे । 

'लाज शरणम्' मा एकजना चलेका कलाकारको केमियो देखिन्छ । तर त्यो यति मिठो छ कि त्यसले अर्को पात्र कलाकार भएको र उसले कलाकारितामा काम गर्दा गर्दै पनि प्रगति नभएकाले जोखिम लिन पुगेको प्रस्ट पार्छ । केहि संवादले उसको बढाइचढाइ गफ दिने स्वभावको बारेमा पनि अवगत गराउँछ ।

केमियोमा आएका ति कलाकारका बारेमा 'लाज शरणम्' टिमले कहिले पनि सार्वजनिकरूपमा बताएन । कतिपय फिल्म टिप्पणीकारले ति कलाकारको उपस्थितिलाई 'लाज शरणम्' टिमले सदुपयोग गर्न नसकेको भनेर आलोचना गरेको समेत देखिन्छ । 

हो, 'लाज शरणम्' टिमले चाहेको भए टिजरमा ति कलाकारलाई देखाउन सक्थ्यो । पोस्टरमा अटाउन सक्थ्यो । त्यो नगर्नु सदुपयोग नगरेको भन्न मिल्दैन । बरू दुरूपयोग नगरेको अर्थमा 'लाज शरणम्' टिमलाई स्याबास भन्न पर्ने हो । 

केहि संवाद बोलाएर केमियो देखाएको भरमा कलाकार पनि छन् भनेर प्रचार गर्नेहरूलाई 'लाज शरणम्'ले केहि नबोली स्पष्ट संकेत गरेको छ कि केमियोको मज्जा कहाँनेर राख्नु पर्ने हो । पोस्टर वा टिजरमा देखेर उनलाई हेर्न दर्शक हलमा पुग्ने तर केमियोमात्र देखेर निराश हुनु पर्ने अवस्थालाई 'लाज शरणम्'ले खारेज गरेको छ । 

नोट : यदि तपाईले फिल्म हेर्न बाँकी छ भने यहाँ भन्दा तल नपढ्न अनुरोध छ । केमियोको मज्जा फिल्ममा लिनुहोला ।

'लाज शरणम्' फिल्म हेरिसकेकाहरूले भने थाहा पाइसक्नु भयो भन्ने विश्वास छ । यसो विचार गर्नुहोस् त, केमियो नभनिकन फिल्मको पोस्टर र टिजरमा दयाहाङ राईलाई देखाएको भए फिल्ममा उनको उपस्थितिले पक्कै पनि केहि दर्शकहरूलाई हलसम्म पुर्याउने थियो । तर त्यो दर्शकको भावनाको दुरूपयोग मात्र हुन्थ्यो । 

'लाज शरणम्' टिमले प्रचारमा केमियोको दुरूपयोग नगरि दर्शकलाई हलमा दिएको मिठो सप्राइज अबका फिल्म निर्माताहरूले प्रयोग गर्नु पर्ने एउटा उदाहरण हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन