Nic Ad Nic Ad
Nic Ad Nic Ad

विराट कोटीहोम रोक्ने पोखरा महानगरको प्रयास असफल, अदालतले दिएन अन्तरिम आदेश

मंगलबार, फागुन २०, २०८१

पोखरा – विराट कोटीहोम महायज्ञ रोक्न पोखरा महानगरपालिकाले गरेको प्रयास असफल भएको छ ।

महायज्ञ रोक्न अन्तरिम आदेश माग्दै पोखरा महानगरले उच्च अदालत पोखरामा दायर गरेको रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार गर्दै अदालतले पुरानै आदेशलाई निरन्तरता दिएको छ ।

सोमबार न्यायाधीश दीपेन्द्र अधिकारी र उमेश कोइरालाको संयुक्त इजलासले फागुन १ गतेको अन्तरिम आदेशलाई नै सदर गरेको छ ।

फागुन १ गते मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दको इजलासले निवेदक मानव सेवा फाउन्डेसनको निवेदनमा सुनुवाइ गर्दै विराट कोटीहोम ज्ञान महायज्ञ सञ्चालनमा कानूनबमोजिम बाहेक कुनै बाधाअवरोध उत्पन्न नगर्नू/नगराउनू भनी महायज्ञ सञ्चालनका लागि बाटो खोलेको थियो ।

त्यसपछि कोटीहोम आयोजक मानव सेवा फाउण्डेसनलाई विपक्षी बनाई पोखरा महानगरले गत हप्ता अन्तरिम आदेश खारेज गरी पाउँ भनी माग गर्दै उत्प्रेषणयुक्त परमादेशको रिट निवेदन दायर गरेको थियो ।

सोमबारको आदेशमा उल्लेख छ,०१३४ नम्बरको रिट निवेदन विचाराधीन रही मिति २०८१/११/६ मा आदेश हुँदा प्रस्तुत रिट निवेदनसमेत साथै राख्नू र अग्राधिकार दिनू भनी आदेश भएको देखिएको, प्रस्तुत रिट निवेदनमा लिखित जवाफ समेत प्राप्त भइसकेको देखिएको अवस्थामा विवाद भएको स्थान र विषयको सम्बन्धमा पूर्ण सुनवाइ भई अन्तिम निरुपण हुँदाका बखत विवेचना हुने प्रकृृतिको देखिँदा हाललाई यस अदालतबाट जारी भएको मिति २०८१/११/१ को अन्तरिम आदेशलाई अन्यथा गरिरहनु परेन ।’

मानव सेवा फाउण्डेसनले पोखराको फेवाताल किनार वाराहीघाट र क्याम्पिङ चौरमा आगामी वैशाखदेखि विराट कोटीहोम महायज्ञ गर्दैछ । तर पोखरा महानगरपालिकाले कुनै पनि हालतमा महायज्ञ गर्न नदिन प्रयास गरिरहेको छ ।

कोटीहोममा श्रीमद्भागवत् कथा, राम कथा, शिवमहापुराण कथा, हनुमत कथा, श्रीमददेवी भागवत् कथा वाचन हुनुको साथै लाखौंको विवाह, ब्रतवन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप, तीन सयभन्दा बढी ब्राह्मण गुरुको दैनिक उपस्थिति, लाखौं रामनाम पुस्तिका वितरण गरी अर्बाैं रामनाम लेखिने र एक करोड शिवलिङ्ग स्थापना गरी एक करोड बेलपत्रद्वारा पुजन गरिने जनाइएको छ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  ०९:१८
प्रतिक्रिया दिनुहोस्