चलचित्रमा नयाँ पुस्ता र ‘होस्टेल’ को प्रयोग
काठमाडौं- निर्माणको संख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण चलचित्रप्रति आकर्षण बढेको पाइन्छ । सोही कारण बेलाबखतमा यस क्षेत्रमा नयाँ अनुहारको आवश्यकता खड्किने गर्छ । एक दशकअघि देखि नयाँ पुस्ताका रूपमा प्रदीप खड्का, अनमोल केसी, सलोन बस्नेतको आगमन भएको कारण नयाँ पुस्ता चलचित्र भवनसम्म पुगे । उनीहरूले आफ्नो पुस्तालाई मुख्य कलाकारका रुपमा मात्र पाएनन्, आफ्नो कथा, लवज र जीवनशैली पनि पाए।
नेपाली चलचित्रमा नयाँ अनुहार ल्याउने श्रेय ‘होस्टेल’ शृङ्खलालाई जान्छ । प्रदर्शन भइसकेको ‘होस्टेल’ र ‘होस्टेल रिट्न्स’ बाट चलचित्रमा ‘डेब्यु’ गरेका अभिनेता अनमोल केसी, सलोन बस्नेत, स्वस्तिमा खड्का, नाजिर हुसेनलगायत अहिले स्थापित बनिसक्नु भएको छ । कुनै समय नयाँ कलाकारलाई चलचित्रमा ल्याउन ‘होस्टेल’ शृङ्खला उपयुक्त मानिन्थ्यो । तर, विविध कारणले यसको दोस्रो शृङ्खलापछि तेस्रो बन्न धेरै समय लाग्यो । ‘होस्टेल रिट्न्स’ प्रदर्शन भएको एक दशकपछि यसको तेस्रो शृङ्खला ‘होस्टेल ३’ तयार भएर आउँदो फागुन २३ मा प्रदर्शन हुँदैछ ।
यसपटक चलचित्र निर्माण, निर्देशनदेखि अभिनय गरेका कलाकार नयाँ छन् । विशेषतः यसलाई ‘नयाँ पुस्ता’ को चलचित्र भन्न सकिन्छ । यस चलचित्र ‘होस्टेल ३’ मार्फत अभिनय यात्रा प्रारम्भ गर्नुभएका पदम तामाङ भारतको सिक्किममा बसोबास गर्छन् । आफ्नै ‘युट्युब च्यानल’मार्फत विभिन्न हास्य व्यङ्ग्यात्मक कार्यक्रम निर्माण गरिरहेका तामाङले ती सब छाडेर चलचित्रमा अभिनय रोजे ।
‘मलाई बेलाबखतमा चलचित्रमा अभिनय गर्ने प्रस्ताव आउँथ्यो तर केहीमा कथा र केही पात्रमा आफूलाई पाउन सकेको थिइनँ । साथै, मैले निर्माण गर्ने ‘कन्टेन्ट’लाई युट्युबमा दर्शकले रुचाउनु भएको थियो, मसँग जोडिएका सबैले बल्ल मेहनत फल पाउनुभएको थियो । अर्थात् हाम्रो राम्रो दिन सुरु भएको थियो । त्यही भएर ती सब छाडेर, सिक्किम छाडेर नेपाल आएर चलचित्रमा अभिनय गर्ने आँट आएको थिएन’, अभिनेता तामाङले भने ।
यद्यपि ‘होस्टेल ३’ बाट प्रस्ताव आएपछि उनका सबै सहकर्मी र परिवारले समेत नयाँ यात्रा सुरू गर्न प्रोत्साहन गरे । सोही कारण उनले पुरानो परिचयलाई चट्ट छाडेर नयाँ परिचयको सुरुआत गरेका छन् । यस्तै, कथा अभिनेत्री सिम्रन पन्तको पनि रहेको छ । विद्यालयमा अभिनय गर्दा कहिले एक्लै चलचित्र हेर्न समेत नपाएकी उनी अहिले चलचित्रमा अभिनेत्री बनेकी छन् ।
बेलाबखतमा परिवारसँग चलचित्र भवन पुग्दा उनलाई खुसी मिल्ने रहेछ, सोही कारण उनले उच्च शिक्षासँगै कलात्मक पाटोलाई समेत बढाउँदै लगिन् । फलतः ‘अडिसन’मार्फत उनी अभिनेत्रीका रुपमा छानिइन् । ‘मैले अभिनयको प्रशिक्षण पनि लिएकी थिएँ । तर, यसअगाडि केही चलचित्रमा काम गर्ने तय भएता पनि त्यो बनेनन्, त्यसकारण प्रस्ताव आउनु नयाँ थिएन । होस्टेलको तेस्रो शृङ्खला बन्दैछ भन्ने थाहाँ पाएपछि म खुसी भएँ । मैले अभिनय गर्दैछु भन्ने तय भएको दिनको उत्साहलाई मैले शब्दमा बयान गर्न सक्दिन’, अभिनेत्री पन्तले भनिन् ।
उनी खुसी हुनुको कारण अभिनेता तामाङझैं ‘होस्टेल’ शृङ्खलाको दर्शक भएर हो । उमेरले चालिस पुगेका कलाकारहरुको भीडमा आफ्नै पुस्तालाई चलचित्रमा पाउँदा अभिनेत्री पन्त दङ्ग परिन् । किनकि युवाको होस्टेल जीवन मात्र नभई ‘टिन एज’ मा आउने उतारचढाव समेत चलचित्रमा समावेश गरिएको थियो । या भनौँ तन्नेरी पुस्ताको कथा र व्यथा चलचित्रमा थियो । तेस्रो शृङ्खला अर्थात् ‘होस्टेल ३’ मा नयाँ पुस्तासँगै जोडिएको विषय भएपछि ‘कुल ब्वाई’ नामक ‘टिकटकर’का रुपमा परिचय बनाएका पारसबम ठकुरी ठूलो पर्दामा अभिनय गर्न सहमत भए ।
‘प्रस्ताव गरिएको पात्र आफूझैं लाग्नाका साथै आफ्नै जस्तोको कथा लागेपछि चलचित्रमा काम गर्ने सोच बनाएको हुँ । फेरि कुनै न कुनै समयमा आफूलाई भिन्न परिचय दिनु नै थियो । म सानो क्यामेराबाट यहाँसम्म आइपुगेको छु । म परिचय फेर्न त आएको हुँ, तर धरातल नछाडेर । आफूले सपना देखियो र त्यसलाई पूरा गर्न इमान्दारिताका साथ लागियो भने निश्चय सफलता पाइन्छ भने उदाहरण बन्न सकूँ जस्तो लाग्छ’, अभिनेता ठकुरीले भने ।
उनलाई चलचित्रमा काम गर्न सहज लाग्नाका कारण नै आफ्नै जस्ता र उमेर समूहका कलाकार तथा प्राविधिक थिएँ । सबै नयाँ र उस्तै उमेर समूहको भएकै कारण सजिलै चलचित्र बन्यो । सामाजिक सञ्जाल वा निःशुल्क दर्शकले रुचाउनु भए तापनि ठूलो पर्दामा हेर्न आउने हो कि होइनन् भन्ने डर त सबैलाई छ । तर, आफूले गरेको कामप्रति सबै ढुक्क छन्। यसै चलचित्रमार्फत अभिनयको सुरुआत गर्ने अर्का कलाकार हुनुहुन्छ, आशिष घिमिरे । छ वर्षको उमेरदेखि हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’ मा ‘धुन्धुकारी’ को भूमिकामा लगातार पाँच वर्षसम्म अभिनय गरेका अभिनेता घिमिरे कलाकार केदार घिमिरेका छोरा हुन् ।
बुबा टेलिशृङ्खला र चलचित्रमा स्थापित भएता पनि अभिनेता घिमिरेले केही सांगीतिक श्रव्यदृश्यमा लेखक र निर्देशन समूहमा रहेर काम गर्नाका साथै आरोहण गुरुकुल नाटकघरमा नाट्यकर्मी सुनिल पोखरेलसँग अभिनय सिके । उनले केही सडक नाटक, नाट्यकर्मी पोखरेलको निर्देशनमा तयार भएको ‘गच्छामी’ नामक नाटक र रामभजन कामतले निर्देशन गरेको ‘काल’ नामक नाटकमा अभिनय गरेपछि चलचित्रमा अभिनय गरे ।
‘चलचित्र बन्दैछ र चाहिएको पात्र म गर्न सक्छु भन्ने लागेपछि ‘अडिसन’ दिएँ । निर्माण समूहले खोजेझैं पात्र भएता पनि धेरै पटक अडिसन दिएपछि म छनोट भएको हुँ । म मेरो बुबाको नाम र पहिचानभन्दा पनि आफ्नै कामले चिनिन चाहन्थे । सोही कारण आफूले सक्दो मेहनत गरेर चलचित्रसम्म आएको हुँ’, अभिनेता घिमिरेले भने । अभिनेता घिमिरेसँगै अन्य तीन कलाकारको पनि पहिलो चलचित्र भएकाले नर्भस, उत्साह र डर सबैमा थियो ।
एकआपसमा घुलमिल हुनाका साथै कार्यशाला (अभिनय प्रशिक्षण) गरे तापनि छायाङ्कनको पहिलो डर सबैमा थियो । किनकि यहाँ आफ्नो कारणले चलचित्र निर्माण गर्न तयार प्राविधिकसहितको टिमको काम बिग्रिन्थ्यो। ‘हामी सबैको उस्तै उस्तै मनोभाव रहेछ । किनकि प्राविधिक सबै पोख्त हुनुहुन्थ्यो । हाम्रो कारणले उहाँको काम समेत सफल हुन्थेन । तर, छायाङ्कन अगाडि हामीले होस्टेल शृङ्खलामा अभिनय गर्नुभएका पुराना कलाकारलाई भेटेर उहाँको अनुभव सुनेका थियौँ, त्यसले हामीलाई आत्मविश्वास बढाउन मदत गर्यो’, अभिनेता ठकुरीले भने ।
‘होस्टेल’मा अभिनय गर्ने अभिनेता गौरव पहाडी र सलोन बस्नेतले सुनाएको अनुभव आफ्नो भन्दा फरक नपाएको अभिनेत्री पन्तले बताइन् । नयाँमा सबै उस्तै हुने वा उही मनोविज्ञान हुने भएपछि सबै कलाकारलाई थप ऊर्जा प्राप्त भयो। त्यही ऊर्जाले उनीहरूलाई छायाङ्कन गर्ने दृश्यमा आफ्नो पात्रलाई जीवन्त बनाउन मद्दत गर्यो । चलचित्रमा अन्य ‘डेब्यु’ कलाकार रिहान गिरी, हिना नगरकोटी र समा पराजुली पनि छन् ।
उनी सम्पूर्ण कलाकार चलचित्र ‘होस्टेल ३’ को सार्वजनिक प्रचार सामग्रीमा आत्मविश्वासी देखिएका छन् । पात्रलाई जीवन्त बनाएको प्रतिक्रिया दर्शकले सामाजिक सञ्जालमा दिएका छन् । दर्शक प्रतिक्रियाकै कारण अभिनेता तामाङ अब अभिनयलाई निरन्तरता र युट्युबमा नयाँ ‘कन्टेन्ट’ तयार गर्ने तयारीमा छन् । ‘म आगामी दिनमा हास्य कलाकारकै रुपमा देखिन्छु भन्ने लागेको छ । किनकि यसमा पनि मेरो पात्रले गर्ने गतिविधिले चलचित्र हेर्न आउनु हुने दर्शक हाँस्न बाध्य बन्नु हुन्छ । साथै, आफ्ना रोकिएको कामको पनि सुरुआत गर्छु’, अभिनेता तामाङले भने ।
व्यावसायिक सुरक्षाका कारण प्रायः निर्देशकको रोजाइमा स्थापित अनुहार पर्ने देखिए पनि नयाँ अनुहारले चलचित्रमा नयाँ दर्शक तान्न सक्ने भएको र विषयवस्तुसँगै ‘होस्टेल’ शृङ्खलाको ‘लिगेसी’ लाई अगाडि बढाउन नयाँ पुस्ताको चलचित्र बनाएको निर्देशक सशान कँडेलले बताए । ‘म आफै निर्देशकका रुपमा नयाँ भएकाले मैले प्रतिभा भएका र मेहनत गर्नसक्ने नयाँ पुस्तालाई चलचित्रमा ल्याएको छु । उहाँहरू सबै आउँदो केही वर्षमा सर्वाधिक खोजिने कलाकारका रुपमा परिचित बन्नु हुनेछ भन्ने मलाई लागेको छ । तर, अहिलेको जस्तै मेहनती र सरल भने रहन सक्नुपर्छ’, निर्देशक कँडेलले भने ।
यसअगाडिका ‘होस्टेल’ का दुई शृङ्खलाले नयाँ पुस्तालाई कलाकारितामा स्थापित गराउनाका साथै व्यावसायिक सफलता पनि हासिल गरेको थियो । ‘होस्टेल ३’ को व्यापार आउँदो केही सातामा थाहा हुने भएता पनि यसमार्फत चलचित्रमा भित्रिएका नयाँ पुस्ताको चर्चा भने अहिले नै बढिरहेको छ ।