मेलम्चीको पाइप फुट्यो, थापाथलीको सडकमै बग्यो ५ लाख लिटर पानी
काठमाडौँ - थापाथलीमा आज बिहान खानेपानीको पाइप फट्दा करिब पाँच लाख लिटर पानी खेर गएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ ।
यसअघि माघ ३० गते बबरमहलमा मेलम्चीको पानी वितरण गरिएको पाइप फुट्दा १० लाख लिटर पानी खेर गएको थियो । यस पटक भने समस्या समाधान छिटो गरिएको छ । बबरमहलमा नेपाल विद्युत् प्राधिकरणका कारण पाइप फुटेको लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए ।
पाइप फुटेको थप कारणका बारेमा अध्ययन भइरहे पनि प्रारम्भिक रूपमा पानीको चाप धेरै भएकाले फुटेको हुनसक्ने उनले बताए । बिहान पाइप फुटेदेखि लिमिटेडको प्राविधिक समूहले थापाथली क्षेत्रमा अध्ययन गरिरहेको छ । त्यहीँबाट लगिएको फोहर पानीको पाइप पनि बिग्रिएको अवस्थामा भेटिएको प्रवक्ता राईले बताए । पाइप खरिद गर्दा ‘थर्ड पार्टी इन्स्पेक्सन’ गरेर ल्याएको लिमिटेडले जनाएको छ । मानवीय कारणले केही समस्या भएको भए त्यसलाई सच्याइने जनाइएको छ ।
थापाथलीमा फुटेको पाइपलाई अहिले लिमिटेडले व्यवस्थापन गरिसकेको छ । त्यस क्षेत्रमा केही दिनमा पूर्ववत् अवस्थामाझैँ पानी वितरण गरिने प्रवक्ता राईले बताए । यसका लागि लिमिटेडको प्राविधिक समूहले अहिले पाइप फुटेको थापाथली क्षेत्रमा काम गरिरहेको छ ।
खानेपानी सँग सम्बन्धित बाहेकका सरकारी निकायले सडक खन्दा समन्वय नगर्दा धेरै ठाउँका पाइपमा समस्या हुने गरेको छ । कहिलेकाहीँ पानीको चापले पनि पाइपमा समस्या हुने गरेको लिमिटेडले जनाएको छ ।