केपी ओली कपको फाइनलमा युवा संघको गुन्डागर्दी, आयोजकबाट कुटिए दर्शक
काठमाडौं– केपी ओली कप फाइनल खेलमा आयोजक राष्ट्रिय युवा संघका स्वयम् सेवकले गुन्डागर्दी गरेका छन्।
केपी ओली कपको उपाधि भिडन्त हेर्न पुगेका समर्थक आयोजकबाटै कुटिएका हुन्। अहिले उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल भैरहेको छ।
सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लबबीचको उपाधि भिडन्त थियो। खेल चलिरहँदा दर्शकदीर्घाबाट प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको थियो।
उक्त नाराबाजीपछि आयोजकका स्वयम् सेवकले दर्शकलाई कुटपिट गरेका थिए।
भिडिओमा आयोजकका दुईजना नाराबाजी गर्ने व्यक्तितिर झम्टिएर आएको देख्न सकिन्छ।
राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले भने घटनाबारे बुझ्ने प्रतिक्रिया दिएका छन्। उनले क्यानडानेपालसँग भने,‘के रहेछ हामी बुझ्नेछौं।’
सोमबार सम्पन्न फाइनलमा आर्मीलाई २–० ले हराउँदै मछिन्द्रले केपी ओली कपको उपाधिमा ह्याट्रिक गरेको थियो।