Nic Ad Nic Ad
Nic Ad Nic Ad

यता प्रधानमन्त्रीले पानी जहाज चलाएनन्, उता जागिर लाइदिने भनेर चार करोड ठगी भयो

मंगलबार, फागुन २०, २०८१

काठमाडौं– नेपालको आफ्नै पानी जहाज चलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणाले सार्थकता पाउन सकेको छैन। 

तर यहि बाहनामा एउटा गिरोह सक्रिय भई युवालाई ठगेको खबर भने सार्वजनिक भएको छ।

पानी जहाजमा जागिर लगाइदिने भन्दै एक गिरोहले युवाहरूलाई ठगिएको छ । उक्त गिरोहले कैलाली र बर्दियाका झण्डै २ सय जना युवाहरूबाट करिब ४ करोड रुपैयाँ ठगेको पाइएको छ।

गिरोहमा बर्दिया राजापुर नगरपालिका वडा नं. ५ पहाडीपुरका ३६ वर्षका हिमांशु चौधरी र कैलाली जानकी गाउँपालिका पथरैयाका मनोज चौधरी रहेका छन्। उनीहरुले युवाहरूलाई सम्पर्कमा ल्याउन गाउँ गाउँमा एजेन्ट समेत राखेको पाइएको छ।

युवाहरुले गिरोहलाई दुईदेखि पाँच लाखसम्म तिरेको बताएका छन्। उनीहरु मध्ये कसैले नगद र कसैले बैंक चेक मार्फत गिरोहलाई रकम बुझाएका हुन।

गिरोहले युवाहरूलाई रोयल केरिभ्यान संस्थाको पानी जहाजमा जागिर लगाइदिने आश्वासन दिएका थिए। 

यसै क्रममा युवाहरूलाई भारतको लखनउ घुम्तिनगरस्थित समुद्री ज्ञान मारिन एकेडेमीमा पानी जहाज सम्बन्धी प्रशिक्षण दिएको थियो।

उनीहरुलाई डेढ वर्षअघि पहिलो चरणमा १५ दिने सुरक्षा सम्बन्धी तालिम दिइएको थियो। पहिलो चरणको तालिम पश्चात् युवाहरूलाई घर पठाइएको थियो। उनीहरुलाई २०८१ दसैँ अघि दोस्रो चरणको दुई महिने थप तालिम दिइएको थियो। 

युवाहरुले गिरोहका नाईके हिमांश चौधरीलाई बर्दियाको राजापुरबाट समातेका छन्।  

ठगिने मध्ये जानकी गाउँपालिका वडा नं. ८ भगरैयाका शंकर चौधरीका अनुसार हिमांशु चौधरी सम्पर्क बिहिन भएका छन् भने अर्का मनोज चौधरी भारतको मुम्बई पुगेका छन्। 

गिरोहले यसै गरी पानी जहाजमा जागिर लगाइदिने भन्दै तालिम पश्चात् भारतको मुम्बई पुर्याएका थप ३० मध्ये २१ जना समेत घर फर्किएका छन्। 

ठगिएकाहरुले बर्दियाको इलाका प्रहरी कार्यालय राजापुर र कैलालीको इलाका प्रहरी कार्यालय टीकापुरमा उजुरी दिन खोजे पनि प्रहरीले उजुरी लिन मानेन। प्रहरीले उजुरी लिन नमाने पछि उनीहरु प्रशासन कार्यालय पुगेका छन्। 
 

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १४:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार