Nic Ad Nic Ad
Nic Ad Nic Ad

थापाथलीमा फुटेको मेलम्चीको पाइप मर्मत कार्य सुरु

मंगलबार, फागुन २०, २०८१

काठमाडौ - काठमाडौंको थापाथली चोकनजिक आज बिहान फुटेको मेलम्चीको मुख्य पाइपलाइन मर्मतकार्य सुरु गरिएको छ ।

खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपश्चात् अहिले काठमाडौंं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्राविधिक टोलीले फुटेको पाइपलाइन मर्मत कार्य सुरु गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का इन्जिनियर प्रकाश बरालले जानकारी दिए ।

उनले भने, ‘आज बिहान थापाथलीमा मेलम्चीको फुटेको पाइप मर्मतका लागि हाम्रो टोली खटिएको छ ।

आज मर्मत कार्य सकेर आजै पानी वितरण नियमित गर्ने तयारीमा छौँ ।’ खानेपानीमन्त्री प्रदीप यादवले थापाथलीमा के कारणले मेलम्चीको पाइप लाइन फुटेको हो सो विषयमा पत्ता लगाउन काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)लाई निर्देशन दिएका छन् । ‘के कारणले पाइप फुटेको हो । त्यसको यकिन कारण पत्ता लगाउन छानबिन गरी अब उपरान्त यस्ता घटना दोहरिन नदिनुहोला,’ मन्त्री यादवले भने । 

बिहानै पाइप फुट्दा उक्त क्षेत्रमा बाढी आएर जलमग्न हुनुका साथै सडकसमेत अवरुद्ध भएको थियो । थापाथली चोकबाट नर्भिक इन्टरनेसनल अस्पताल आउने सडकमा पाइपको लाइन फुट्दा पानी नजिकका घर र पसलहरूमा पसेको थियो ।

यसअघि पनि बबरमहल क्षेत्रमा नेपाल प्राधिकरणको काम गर्ने वेलामा खानेपानीको मुख्य पाइपलाइन फुट्दा बाढी आएको थियो । त्यस क्षेत्रका सरकारी कार्यालयहरू डुबानमा परेका थिए ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १४:४७
प्रतिक्रिया दिनुहोस्