Nic Ad Nic Ad
Nic Ad Nic Ad

पर्यटकमैत्री व्यवहार गर्न कर्मचारीलाई गृहमन्त्रीको आग्रह

मंगलबार, फागुन २०, २०८१

भैरहवा– रुपन्देहीको बेलहियामा अध्यागमन कार्यालय आफ्नै सुविधायुक्त भवनमा सञ्चालनमा आएको छ । मंगलबार एक कार्यक्रमका बीच गृहमन्त्री रमेश लेखकले उक्त भवनको समुद्घाटन गरेका छन् । 

भवनको उद्घाटन कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले नाकामा बनेका पूर्वाधारहरुले रुपन्देहीको बेलहिया नाकालाई मुलुककै ठूलो नाकाका रूपमा स्थापित गरेको बताए । मुलुकका सीमा क्षेत्रमा १३ वटा अध्यागमन कार्यालय रहेको र ती कार्यालयले पर्यटकलाई सहज बनाएको जनाउँदै उनले सेवाप्रवाह चुस्त हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘पछिल्ला दिनमा सबै ठाउँँबाट पर्यटक आगमन राम्रो छ । यो ठाउँ बुद्ध जन्मभूमि भएकाले धार्मिक पर्यटकको सम्भावना छ । हामीले पर्यटनमैत्री वातावरण बनाइरहेका छौं, पर्यटक आगमनलाई व्यवस्थित गरिरहेका छौं । हाम्रो लक्ष्य पर्यटक आगमन वृद्धि गर्ने हो । पर्यटक बढ्दा यसले मुलुकलाई आर्थिक रूपमा समृद्धि बनाउँछ’ ।

गृहमन्त्री लेखकले अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीहरूले पर्यटक र आम सेवाग्राहीलाई नम्र, सरल र मिठासपूर्ण व्यवहार गर्नुपर्ने बताएका बताए । उनले कर्मचारीहरूको व्यवहारले मुलुकको अवस्था बताउने भन्दै सचेत भएर राम्रो सौहार्दपूर्ण तरिकाले सेवा दिन आग्रह गरे । 

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १६:१८
प्रतिक्रिया दिनुहोस्