Nic Ad Nic Ad
Nic Ad Nic Ad

अध्यादेश स्वीकृतिका लागि प्रतिनिधि सभामा निर्णयार्थ पेस गर्ने कार्यसूची तय

मंगलबार, फागुन २०, २०८१

काठमाडौँ- बुधबार प्रतिनिधि सभाले अध्यादेश अगाडि बढाउने भएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको हो ।

यसअघि गत माघ २४ गते कार्यसूचीमा चढेर पनि स्थगित भएको थियो । सरकारले नै अध्यादेश अगाडि नबढाउने भनेपछि सभामुख देवराज घिमिरेले त्यसदिन अध्यादेश अगाडि बढाउने सम्बन्धी कार्यसूची स्थगित गरेका थिए ।

त्यसको झण्डै एक महिनापछि अध्यादेश अगाडि बढाउने सम्बन्धी कार्यक्रम कार्यसूचीमा परेको हो ।

गत माघ २४ गते ६ वटै अध्यादेश अगाडि बढाउने कार्यसूची थियो । बुधबार भने पाँच वटा अध्यादेश अगाडि बढाउने सम्भावित कार्यसूची छ ।

सत्तापक्षमै रहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले भूमि सम्बन्धी अध्यादेश अगाडि बढाउन सहयोग नगर्ने अडान लिएपछि सरकारले बाँकी अध्यादेश अगाडि बढाउन लागेको हो ।

भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश गत २ माघमा जारी भएको थियो । यो अध्यादेश तत्काल संसदमा होल्ड हुने भएको छ । बाँकी अध्यादेश भने अगाडि बढाउने कार्यक्रम तय भएको हो ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १८:४४
प्रतिक्रिया दिनुहोस्