थापाथलीमा मेलम्चीको पाइप फुट्नुमा विद्युत् प्राधिकरणकै लापरबाही : केयुकेएल
काठमाडौं- काठमाडौंको थापाथली क्षेत्रमा मेलम्ची खानेपानी वितरण प्रणालीको पाइप फुट्नुमा नेपाल विद्युत् प्राधिकरणको लापरबाही रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ।
मंगलबार बिहान थापाथली चोकबाट प्रसूति गृहतर्फको सडक मुनि बिछ्याइएको पाइपलाइन क्षतिग्रस्त हुँदा पाँच लाख लिटर पानी खेर गएको थियो। प्रारम्भिक अध्ययनले विद्युत् लाइन भूमिगत गर्ने क्रममा सावधानी नअपनाइएको कारण पाइपमा क्षति पुगेको लिमिटेडको दाबी छ।
नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइन भूमिगत गर्दा मेलम्चीको पाइपलाइनभन्दा कम्तीमा एक मिटर टाढा रहनुपर्ने पूर्व समझदारी तोडेर सिधै मेलम्ची पाइपमाथि नै तार बिछ्याएको पाइएपछि यस्तो क्षति भएको आयोजना उप-निदेशक एवम् प्रवक्ता ई. चन्द कुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार, पाइपमा पहिल्यै चोट लागेकाले पानीको चाप बढ्दा फुटेको हुनसक्ने प्रारम्भिक अध्ययनमा देखाएको छ।
आज बिहान ५:२० बजे पाइप फुट्नासाथ आयोजनाका प्राविधिक टोली परिचालन गरी पानीको प्रवाह रोकिएको थियो। साथै, काठमाडौं महानगरपालिकाले सडकमा जमेको पानीको निकासको व्यवस्था मिलाउँदै सफाइ कार्यसमेत गरेको छ।
यसअघि, माघ ३० गते बबरमहलमा यस्तै दुर्घटनाका कारण १० लाख लिटर पानी खेर गएको थियो। केयुकेएलले यस पटक समस्या छिटो समाधान गरेको बताएको छ।