अमेरिका र युक्रेनबीच पुनः वार्ता हुने संकेत
काठमाडौँ- अमेरिकी उपराष्ट्रपति जेडी भान्सले हालै फक्स न्यूजको “ह्यानिटी” कार्यक्रममा दिएको अन्तर्वार्तामा संयुक्त राज्य अमेरिका र युक्रेनबीच वार्ता पुनः सुरु हुने सम्भावनाको संकेत गरेका छन्।
उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले रूससँग शान्ति योजनामा काम गरिरहेको पनि उल्लेख गरे।
उपराष्ट्रपति भान्सले अन्तर्वार्तामा भने : यदि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की वार्ताको टेबलमा गम्भीरतापूर्वक फर्कन चाहन्छन् भने प्रशासनले उनलाई स्वागत गर्नेछ। उनले भने, “यदि उनले दूरवार्ता (फोन) गरेर प्रक्रियामा संलग्न हुन गम्भीर प्रस्ताव राखे भने..र उनले ती विवरणहरूमा गम्भीरतापूर्वक संलग्न हुनुपर्छ। एकपटक त्यो भएपछि निस्सन्देह, हामी कुरा गर्न चाहन्छौं।”
उपराष्ट्रपतिले संयुक्त राज्य अमेरिकाले युक्रेनसँग खोजिरहेको खनिज सम्झौताले “वास्तविक सुरक्षा प्रत्याभूति (ग्यारेन्टी)हरू” ल्याउने दाबी गर्दै थप संलग्नताको लागि विचार गर्नुपर्ने संकेत दिए।
भान्सले अगाडी भने, “सुरक्षा प्रत्याभूति , र युक्रेनको लागि आर्थिक प्रत्याभूति पनि, देशलाई पुनर्निर्माण गर्न र अमेरिकाको दीर्घकालीन चासो सुनिश्चित गर्न हो,” उनले खनिज सम्झौतालाई अमेरिकाको “युक्रेनको भविष्यमा आर्थिक लाभ” भनेर ब्याख्या गरे ।
यसैबीच, राष्ट्रपति ट्रम्पले युक्रेनलाई दिइने सबै सैन्य सहायता रोक्न निर्देशन दिएका छन्, जसले जेलेन्स्कीलाई रूससँग शान्ति वार्तामा संलग्न हुन दबाब दिने उद्देश्य राखेको छ। यो निर्णयले डेमोक्र्याटहरूबाट ट्रम्पले तीव्र आलोचना सामना गरिरहेका छन् । उनीहरुले यसलाई लापरवाह र अमेरिकी राष्ट्रिय सुरक्षाको लागि खतरा मानिरहेका छन्।