Nic Ad Nic Ad
Nic Ad Nic Ad

धुर्मुस–सुन्तलीले अख्तियारबाट पाए ‘सफाइ’

मंगलबार, फागुन २०, २०८१

काठमाडौं - कलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट सफाइ पाएका छन् ।

चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि उठेको रकम दुरुपयोग गरेको भन्दै धुर्मुस–सुन्तलीविरूद्व अख्तियारमा उजुरी परेको थियो।

धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल र उपाध्यक्ष कुञ्जना घिमिरेलाई चितवन क्रिकेट संघमा तत्कालीन कोषाध्यक्ष अनिल अधिकारीले गत २०७८ साल माघ २ गते मुद्दा दायर गरेका थिए ।

सहयोग रकमलाई फाउन्डेसनले प्रक्रियागतरूपमा नै खर्च गरेको अख्तियारको ठहर छ । फाउन्डेसनले प्राप्त गरेको सरकारी रकमलाई नियम र प्रक्रियासंगतरूपमा नै खर्च गरिएको पाइएकाले उजुरीलाई तामेलीमा राखिएको हो अख्तियारले जनाएको छ ।

देश–विदेशमा रहेका नेपालीहरुबाट संकलित चन्दा र भरतपुर महानगरलगायत सरकारी कार्यालयबाट ५७ करोड बढी रकम उठाएको र त्यसको दुरुपयोग गरेको उनको दाबी थियो । तर, अख्तियारको तीन वर्ष लामो अनुसन्धानबाट फाउन्डेसनले गरेको खर्च प्रक्रियामा कुनै कैफियत नदेखिएको जनाएको हो ।

अख्तियारका अनुसन्धान अधिकृत विमलकिशोर केपीले अधिकारीको उजुरीमा अनुसन्धान पूरा भई तामेलीमा राखिएको जानकारी गराउँदै केही दिनअघि भरतपुर महानगरपालिकालाई पत्र पठाएका छन् ।

धुर्मुस–सुन्तली फाउन्डेसनले जनसहयोगबाट निर्माण सुरू गरेको रंगशालामा ३९ करोड ८० लाख बराबरको नगद तथा जिन्सी संकलन भएको थियो।

यसमध्ये करिब १२ करोड सरकारी निकायहरुबाट प्राप्त भएको हो। रंगशालामा फाउन्डेसनले ५७ करोड ९२ लाख खर्च गरेको छ । रंगशालाको ३९ प्रतिशत काम भइसकेपछि थप स्रोत जुटाउन नसक्दा फाउन्डेसले भरतपुर महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेको थियो ।

महालेखा परीक्षकको सातौं वार्षिक प्रतिवेदनअनुसार फाउन्डेसनले हस्तान्तरण गर्दा रंगशालामा ६३ करोड २२ लाख रूपैयाँ बराबरको काम भएको थियो ।

यसमध्ये १८ करोड रुपैयाँ बराबरको निर्माण सामग्री फाउन्डेसनले उधारोमा लिएको थियो । महानगरले ६३ करोडको संरचना फाउन्डेसनबाट लिए पनि १८ करोड उधारो भने तिर्न मानेको छैन । उधारोमा निर्माण सामग्री आपूर्ति गरेका व्यवसायीहरूले धुर्मुसविरुद्ध अदालतमा मुद्दा हालेका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १९:५८
प्रतिक्रिया दिनुहोस्