जसपा नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने
काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा), नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ । तीन दिनसम्म बसेको केन्द्रीय समितिको बैठकको अन्तिम दिन आज सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।
जसपाले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, र ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ सहित पाँच वटा अध्यादेशमा सर्मथन गर्ने भए पनि ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ को भने विरोध गर्दै आएको छ ।
यसैगरी जसपा नेपालले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, र ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘सुशासन प्रवद्र्धनसम्बन्धी अध्यादेश, २०८१’ पनि समर्थन गरेको छ ।
पार्टी प्रवक्ता मनिष सुमनले बैठकले भ्रष्टाचार अन्त्य, सुशासन, विकास र संविधान संशोधनका लागि वर्तमान सरकारले काम गर्न नसकेको निष्कर्ष निकाले पनि समर्थन भने कायमै राख्ने निर्णय गरेको बताए ।
बैठकले पाथिभरामा बन्न लागको केबलकारविरुद्धको ‘नो केबलकार अभियान’ प्रति समर्थन जनाउँदै वार्ता र संवादमार्फत समस्याको समधान गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको पनि उनले जानकारी दिए ।