Nic Ad Nic Ad
Nic Ad Nic Ad

ट्रम्पले पुटिनलाई खुशी पार्ने प्रयास गर्दैछन् : ट्रुडो

बुधबार, फागुन २१, २०८१

काठमाडौँ - क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई क्यानडामाथि लगाइएको कर ‘मूर्खतापूर्ण कार्य’ भएको र उनको देशले यसको तुरुन्तै जवाफ दिने बताएका छन् । उनले ट्रम्पले क्यानडाविरुद्ध व्यापार युद्ध लड्दै रुसलाई सहयोग गरेको आरोप समेत लगाएका छन् ।

आफ्नो कार्यकालको अन्तिम समयमा रहेका ट्रूडोले भने, ‘हामी अमेरिकाबाट हुने ३० अर्ब क्यानेडियन डलरको आयातमा तत्काल २५ प्रतिशत भन्सार शुल्क लगाउँदैछौं र आवश्यक परेमा आगामी २१ दिनमा थप १२५ अर्ब क्यानेडियन डलरको आयातमा भन्सार शुल्क लगाउनेछौं । यद्यपि, यी सबै शुल्कहरूको लागि निश्चित रूपमा कुनै उचित कारण छैन ।’


ट्रुडोले अमेरिका–मेक्सिको–क्यानाडा व्यापार सम्झौताको कुनै पनि उल्लङ्घनलाई क्यानडाले विश्व व्यापार संगठनमा चुनौती दिने पनि बताए । उनले अमेरिकाले आफ्नो निकटतम साझेदार क्यानडाविरुद्ध व्यापार युद्ध छेडेको बताउदै ट्रम्पले रूसका तानाशाह भ्लादिमिर पुटिनलाई खुसी पार्ने प्रयास गरिरहेको आरोप लगाए । ट्रुडोले सिधै ट्रम्पको नाम लिएर यो मूर्खतापूर्ण भएको बताए ।

ट्रम्पले अमेरिकाका तीन ठूला व्यापारिक साझेदारहरू विरुद्ध शुल्क लगाएका छन् त्यसपछि मेक्सिको, क्यानडा र चीनले तुरुन्तै बदला लिए र वित्तीय बजारमा अशान्ति सिर्जना भएको छ । ट्रम्पले मेक्सिकन र क्यानेडियन आयातमा २५ प्रतिशत कर लगाए, यद्यपि उनले क्यानेडियन ऊर्जामा कर १० प्रतिशत कर लगाए । ट्रुडोले क्यानडाले यो व्यापार युद्ध नचाहेको बताउदै ट्रम्पले यो विकल्प रोजेको स्पष्ट गरेका छन् । ट्रुडोले ट्रम्पले बारम्बार उनको लक्ष्य क्यानडाको अर्थतन्त्रलाई हानि पुर्‍याउनु रहेको बताएको उल्लेख गर्दै उनले क्यानडालाई आफ्नो अधीनमा राख्न खोजेको आरोप लगाए ।

क्यानडाको सबैभन्दा बढी जनसंख्या भएको प्रान्त ओन्टारियोका प्रिमियर डग फोर्डले अमेरिकामा हुने बिजुली निर्यातमा २५ प्रतिशतले कटौती गर्ने र यदि कर जारी रहेमा त्यसो गर्न पूर्ण रूपमा रोक्न सक्ने बताएका छन् । उनले अमेरिकालाई निकेल र दुर्लभ खनिजहरूको बिक्री रोक्न सक्ने पनि बताएका छन् । यसको अतिरिक्त, ओन्टारियो र अन्य प्रान्तहरूले अमेरिकी रक्सी ब्रान्डहरू हटाउन थालेका छन् ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  ०९:२७
प्रतिक्रिया दिनुहोस्