Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारले स्वर्गद्वारी गुठीका मोही किसानमाथि दमन गर्‍यो : सांसद शर्मा

बुधबार, फागुन २१, २०८१

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसद रेखा शर्माले सरकारले स्वर्गद्वारी गुठीका मोही किसानमाथि दमन गरेको आरोप लगाएकी छन् ।

प्रतिनिधि सभाको आज (बुधबार) को बैठकमा सांसद शर्माले काठमाडौं आएर आन्दोलन गरेको ३२ दिन बितिसक्दा पनि सरकारले उनीहरूको समस्या समाधानको पहल नगरेको बरू दमनमा उत्रिएको बताएकी हुन् ।

‘’आइतबार प्रहरी र आन्दोलित मोही किसानबीच झडप भयो । दुवै तर्फका घाइते भए । १२ जनालाई नियन्त्रणमा लिएर प्रहरीले भोलिपल्ट छाडेको थियो,’ सांसद शर्माले भनिन् । सरकारले सडकबाट किसानले उठाएको र सांसदहरूले पटक पटक संसदबाट ध्यानाकर्षण गराएको विषय पनि सरकारले नसुनेको बताइन्।

गुठि किसानसँग वार्ता गरी यथाशीघ्र गुठीसम्बन्धी ऐन ल्याउन, जमीनमाथिको द्वेध स्वामित्व अन्त्य गरी मोही पुर्जाको हक सुनिश्चित गर्न र गुठी जग्गा रैकरमा परिवर्तन गरी किसानलाई जग्गा धनी पुर्जा जारी गर्न सरकारसँग माग गर्न चाहन्छु,’ उनले भनिन् । सरकारले सडकमा उनीहरूले गरिरहेको शान्तिपूर्ण आन्दोलनलाई नजरन्दाज गरेकै कारण उनीहरू अहिले पार्टी कार्यालयहरूमा धर्ना दिन, ज्ञापन पत्र बुझाउने गरिरहेको सांसद शर्माले बताइन् ।

सरकारसँग तीन बुँदे माग राख्दै गुठीपीडितहरू माइतीघरमा धर्ना दिँदै आइरहेका छन् । पुस्तौंदेखि खेतिपाती गर्दै आएको जग्गाको स्वामित्व स्वर्गद्वारी गुठीको नाममा पुगेपछि पीडितहरू सरकारलाई सुनाउन दाङबाट काठमाडौं आएका थिए ।

यसअघि दाङमै २०८० फागुन ७ देखि १ महिनामै आन्दोलन गरेका थिए । सरकारसँग दुई बुँदे सम्झौता भएपनि एक वर्ष हुँदा पनि कार्यान्वयन नभएको उनीहरूको भनाइ छ । मोही किसानले जोतभोग गर्दै आएको जमिन मोहीको नाममा रैथानी हुने कानुनी व्यवस्था, विशेष प्रकृतिको निजी भनिएको गुठी जग्गाका निष्काशित मोहीको हक पुनस्र्थापित गर्न र किसानले बुझाउनुपर्ने रैतानीबापतको तिरो वडामार्फत बुझाउने व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १५:५२
प्रतिक्रिया दिनुहोस्