भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल ल्याउन परराष्ट्रमन्त्री राणा नयाँ दिल्ली जाँदै, यसरी मिलाईँदैछ भेट
काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल ल्याउन परराष्ट्रमन्त्री आरजु राणा आफैं नयाँ दिल्ली जाने तय भएको छ।
भारतस्थित नेपाली राजदूतवासमार्फत औपचारिक रुपमा विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीमार्फत भेटको वातावरण मिलाउनका लागि आग्रह गरिएको छ।
नेपालमा हुने सगरमाथा संवादको प्रमुख अतिथि बनाउने प्रस्तावसहित राणा नयाँ दिल्ली जान लागेकी हुन्। समय तय भएको खण्डमा राणाले मोदीलाई भेटेर विशेष आग्रहसाथ निम्तो दिनेछिन्।
विदेश सचिव मिश्रीमार्फत विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री मोदीको समय मिलाउने बताइएको छ।
यता, भारतीय जनता पार्टीका विदेश विभागका महासचिव बिजय चौथाइवालेमार्फत पनि भेटका लागि समय मिलाउनका लागि आग्रह गरिएको राणा निकट स्रोतले जनाएको छ।
नेपालमा आउनुअघि बिम्स्टेक सम्मेलनका क्रममा थाइल्यान्डमा प्रधानमन्त्री केपी शर्मा ओली र मोदीको साइडलाइन वार्ताका निम्ति पनि समय मिलाइनेछ। आगामी अप्रिल २ र ३ तारिखका दिन मोदी थाइल्यान्डमा हुनेछन्।
नेपाल बिम्स्टेक सदस्य राष्ट्र हो। यसअघि अध्यक्ष रहँदा नेपालमा भएको सम्मेलनका क्रममा तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाका पालामा मोदीसहितका सदस्य राष्ट्रका सरकार र मुलुक प्रमुख काठमाडौं आएका थिए।