नेभिगेशन
राजनीति

प्रतिनिधि सभामा पाचौं ठूलो दल जन्मिँदैः माधव नेपाललाई धक्का, उपेन्द्रलाई चुनौती

काठमाडौं– प्रतिनिधि सभामा राप्रपा पछाडिको ५औं ठूलो दलको जन्म हुने लगभग निश्चित भएको छ। यसले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित तराई मधेसमा जनता समाजवादी पार्टीलाई धक्का हुने भएको छ।

उपेन्द्र यादव नेतृत्वको जसपाका लागि भने चुनौती बनेर डा. सीके राउत र रेशमलाल चौधरीको पार्टी एकीकरण गरी पाचौं ठूलो राष्ट्रिय दल बन्न लागेको हो। त्यसका निम्ति राउत र चौधरीबीच एकीकरणका सन्दर्भमा सैद्धान्तिक सहमति भएको छ।

अब दुवै दलका केन्द्रीय समितिको बैठक राखी आधिकारिक निर्णय गराउने तयारी भएको उच्च स्रोतले क्यानडानेपाललाई जानकारी दियो। हाल प्रतिनिधि सभामा राउतको जनमत पार्टीको ७ र चौधरीको नागरिक उन्मुक्ति पार्टीको ६ सदस्य छन्। 

यी दुवै एकीकरण भए १३ सदस्यीय सांसद भएको पार्टी हुनेछ। जो राप्रपाभन्दा एक सीट कम र माधवकुमार नेपालको पार्टीभन्दा तीन तथा अशोक राईको जसपा नेपालभन्दा ६ र उपेन्द्र यादवको जसपाभन्दा ८ सीट धेरै हो। 

हाल संसदमा नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो, माओवादी केन्द्र तेस्रो र रास्वपा चौथो दलका रुपमा स्थापित छन्।

यी दुई दलको एकीकरणको मूल उद्देश्य पश्चिम तराईदेखि मधेसम्मको ठूलो दल बनाउने रहेको उच्च स्रोतले दाबी गरेको छ। भन्यो,‘पश्चिम नेपालदेखि पूर्वी मधेससम्मलाई समेट्नेगरी सहमति बनेको छ।’

राउतको दल सर्लाहीदेखि सप्तरीसम्म प्रभावकारी रुपमा देखा परेको छ भने चौधरीको दल भने कैलाली, कञ्चनपुर, बाँके र बर्दीयामा प्रभावकारी रहेको छ। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति