बालेन–संघीय सरकार टकरावः सामान्य प्रशासनले महानगरलाई उल्टै काट्यो पत्र (पत्रमा के छ?)
काठमाडौं– काठमाडौं महानगरपालिका र संघीय सरकारको टकराव झनै बढेको छ। प्रमुख प्रशासकीय अधिकृतका सन्दर्भमा बढेको विवादको नयाँ चरण सुरु भएको हो।
सामान्य प्रशासन मन्त्रालयले महानगरका नाममा पत्र काटी आफ्ना कर्मचारीलाई काम गर्न दिन भनेको छ।
मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतका रूपमा काठमाडौँ महानगरपालिकामा खटाइएका कर्मचारी सरोजप्रसाद गुरागाईंलाई महानगर प्रमुख बालेन्द्र शाहले हाजिर गर्न नदिएको गुनासो आएको भन्दै मन्त्रालयले कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन आग्रहसहित पत्राचार गरेको छ।
काठमाडौँ महानगरपालिकामा खटाइएका गुरागाईंले आफूलाई गत पुस ८ गतेदेखि कार्यालयमा हाजिर गर्न नदिएको भन्दै मन्त्रालयसमक्ष लिखित गुनासो गरेका थिए।
महानगर प्रमुख बालेनले आफ्नो कार्यकक्षमा ताला लगाई काम गर्न नदिएको तथा अनेक झुटा लाञ्छनाहरू समेत लगाएको गुरागाईंले मन्त्रालयलाई दिएको निवेदनमा उल्लेख छ ।
पत्राचार गर्दै मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सरोज प्रसाद गुरागाईंले आफूलाई खटाइएको कार्यालयको कार्यकक्षमा प्रवेश गर्न अवरोध सिर्जना गरी कार्यवातावरण विथोलिएको तथा मिति २०८१।०९।०८ देखि हाजिर गर्न नपाएको अवस्था रहेकोले आवश्यक व्यवस्थापन गरी कार्य वातावरण सहज बनाइदिनु हुन भनी यस मन्त्रालयमा निवेदन पेश गर्नुभएको हुँदा निजलाई तहाँ महानगरपालिकामा हाजिर भई कार्य सम्पादनका लागि आवश्यक सहजीकरण गरिदिनु हुन निर्णायअनुसार छ भनी पत्र लेखेको छ।