सरकारले एसइई परीक्षाबेला शिक्षकलाई आन्दोलनकारी बनाउँदैछ : माधव सापकोटा
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले एसइई परीक्षा नजिकिदै गर्दा सरकारले शिक्षकहरूलाई कक्षा कोठामा पढाउने व्यवस्था गर्ने भन्दा पनि आन्दोलनकारी बनाएको बताएका छन्।
आज(बिहिबार) प्रतिनिधिसभा बैठकमा उनले शिक्षकहरूले आन्दोलन घोषणा गरिसकेकाले यसमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका हुन।
‘शिक्षकहरूले अहिले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्,एसइई परीक्षा नजिकिदै छ,त्यसैले सरकारले पठनपाठन गराउनेबेला शिक्षकहरूलाई आन्दोलनकारी बनाउँदै छ,’उनले भने,‘त्यसैले शिक्षकहरूलाई मर्यादित भएर आफ्नो पेशामा जाने वातावरण सरकारले निर्माण गरोस् भनी म संसद र सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु।’
नेपाल शिक्षक महासंघले आगामी शनिबार काठमाडौंमा वृहत् जुलुस तथा विरोधसभा आयोजना गर्ने घोषणा गरेको छ। महासंघले विगतका सबै सहमति सम्बोधन हुने विद्यालय शिक्षा ऐन जारी गर्नको लागि राज्यलाई बाध्य पार्न वृहत् जुलुस तथा विरोधसभा आयोजना गर्न लागेको जनाएको छ।