सांसद रिजालले भने- दर्शकलाई कुट्ने गुण्डा होइनन्, गणतन्त्रका सेनानी हुन्
काठमाडौं- नेकपा (एमाले) पार्टीका सांसद ईश्वरबहादुर रिजालले दशरथ रंगशालामा दर्शकलाई कुट्ने व्यक्ति बिल्लादारी गुण्डा नभई लोकतन्त्रका सेनानी भएको बताएका छन्। आज(बिहिबार) प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन्।
उनले संसदमा एक दुईदिनदेखि असभ्य शब्दहरू प्रयोग गरिएको भन्दै आक्रोश पनि पोखे। ‘भर्खरभर्खर जंगलबाट शहरतिर छिरेको जम्बो मन्त्रीहरूले अशिष्ट,असभ्य शब्दहरू यहाँ राख्ने निरन्तर प्रयास गरेका छन्,’उनले भने,‘हिजो मात्रै बिल्लादारी गुण्डाहरू भन्ने शब्द सुनियो,यो संसदीय शब्द होइन,असभ्य शब्द हो,उनीहरू बिल्लादारी गुन्डा होइनन्, लोकतन्त्र, गणतन्त्रका सेनानी हुन्,जब लोकतन्त्रमाथि प्रहार हुन्छ,चुप लाएर बस्दैनन्,जब चुप लाग्नेछन् तब दुनियाँले सुन्ने छ, ती सेनानीहरूको तागत कति हुँदो रहेछ।’
हिजो बसेको प्रतिनिधिसभा बैठकमा सांसद ज्ञानेन्द्र शाहीले रंगशालामा पार्टीका गुण्डा कार्यकर्ताहरूले दर्शकलाई कुटेको र त्यसलाई कारबाही नगरिएको भन्दै गृहमन्त्रीमाथि आक्रोश पोखेका थिए।