Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रियसभाबाट पनि पाँच अध्यादेश स्वीकृत

बिहीबार, फागुन २२, २०८१

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको साथपछि राष्ट्रिय सभाबाट पनि पाँच वटा अध्यादेश स्वीकृत भएको छ ।

आज (बिहीबार) बसेको राष्ट्रियसभा बैठकले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन), आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको हो। सबै अध्यादेशहरू बहुमतद्वारा स्वीकृत भएका हुन् ।

राष्ट्रिय सभामा जसपा नेपालका तीन सांसद छन् । अध्यादेश बहुमतबाट स्वीकृत गर्न उनीहरूको साथ सरकारलाई आवश्यक थियो । जसपा नेपालको असहमतिपछि भूमिसम्बन्धी अध्यादेश भने निर्णयार्थ पेस हुनबाट रोकिएको छ । यी पाँच वटा अध्यादेश बुधबारको प्रतिनिधि सभा बैठकबाट पनि पारित भइसकेको छ। सरकारले गत पुसमा अध्यादेशहरू ल्याउने निर्णय गरेको थियो । तर राष्ट्रिय सभामा बहुमत प्रष्ट नहुँदा अध्यादेश निर्णयार्थ अघि बढ्न ढिलाइ भएको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १७:५८
प्रतिक्रिया दिनुहोस्