अन्तिमराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर चुनाव लड्न ओलीको चुनौती
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम राजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न चुनौती दिएका छन् । कुर्सीमा बस्दैमा राजा नभइने भन्दै उनले कटाक्ष गरे ।
महोत्तरीमा आज आयोजित एक कार्यक्रममा ओलीले देशका जुनसुकै स्थानबाट चुनाव लड्न सुझाव दिए ।
उनले भने, ‘‘हुँदा हुँदा हिजो कि अस्तिका दिन उहिले नेपाली जनताले फालेको राजतन्त्रलाई फेरि कताबाट कहाँबाट उधिनेर ल्याएर खोइ कहाँ कुर्सीमा राख्छन् अरे । मान्छे कुर्सीमा बस्दा राजा हुने भए त तपाईँहरू कुर्सीमा बस्नुभएको छ, राजा हुनुभो ? (अर्कोतिर फर्केर) यता पनि कुर्सीमा बस्नुभएको छ राजा हुनुभो रु कुर्सीमा राख्दैमा राजा भइँदैन ।’
छायाँलाई अगाडि सार्नुभन्दा आफैँ अगाडि सर्न पूर्वराजालाई ओलीले आग्रह गरे । संविधानको बाटो समाएर आएमा आफूहरूलाई आपत्ति नहुने उनको भनाइ थियो ।
‘लोकप्रिय हुनुहुन्छ भने ठिक छ, संविधानअनुसार चुनाव लड्न आउनुस् न । तपाईँलाई जहाँसुकै चुनाव लड्न खुला छँदैछ नि । आउनुस्, चुनाव लड्नुस्, पार्टी खोल्नुस् । खोलेकै छ, त्यसलाई आफ्नो भन्नुस् । मेरो पार्टी भन्नुस् न । एउटा घोस्ट भन्छ नि‘ छायाँ अगाडि सारेर होइन, आफूलाई अगाडि सार्नुस् न । अनि अलिकति टाउको निकाल्ला निकाल्ला जस्तो‘ यसोयसो पनि गर्ने, अप्ठेरो पर्यो भनेर फुत्त तानेर कछुवा तालले टाउको लुकाउने ?’