६ दिनअघि ‘सी–चेक’ गरेर ल्याइएको जहाजमा दुबई उड्ने बेला समस्या, ‘भैरहवामा ग्राउण्डेड’
काठमाडौं - काठमाडौंबाट १४९ यात्रु बोकेर दुबईका लागि उडेको नेपाल वायुसेवा निगमको न्यरोबडी भैरहवामा बिग्रिएपछि ‘ग्राउण्डेड’ भएको छ ।
६ दिनअघि चीनबाट ६ करोड ६८ लाख खर्च गरेर फाइभ–सि–चेक (मर्मत) गरेर ल्याइएको नेपाल वायुसेवा निगमको सगरमाथा न्यरोबडी जहाज ग्राउण्डेड भएको हो ।
जहाज बुधबार राति साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा हुँदै दुबई जाने तालिका थियो । भैरहवामा यो विमान सवा ११ बजे राति अवतरण भएको थियो ।
त्यहाँबाट दुबई जाने यात्रु थपेर दुबई उड्ने तालिका थियो । तर, जहाजमा इन्जिनको गति तीव्र हुने समस्या (ओभर स्पिड प्रोटेक्सन) देखिएपछि चालक दल र जहाजमा भएका इन्जिनियरले विमानलाई मर्मत गरेर मात्रै उडाउने भन्दै राति १ बजे ग्राउण्डेड गरेका हुन्।
भैरहवामा निगमका दुई जना मात्रै कर्मचारी भएकाले राति अध्यागमन कार्यालय, भैरहवा विमानस्थल कार्यालयका घर गइसकेका कर्मचारीलाई बोलाएर यात्रुहरुलाई होटल लैजाने नियम अनुसार बिहान ४ बजेसम्म त्यहाँका विभिन्न होटलमा लगिएको थियो । काठमाडौंबाट उड्नुअघि यस्को फ्युल मिटर बदलेर करिब दुई घण्टा ढिलो उडाइएको स्रोतले जनाएको छ ।