अमेरिकासँग कुनै पनि युद्ध अन्त्यसम्म लड्ने चीनको घोषणा
काठमाडौं– एसीयाली पावर हाउस चीनले अमेरिकासँग कुनै पनि प्रकारको युद्ध अन्त्यसम्म लड्ने घोषणा गरेको छ।
हालै भएको एक पत्रकार सम्मेलनमा चीनलाई १० प्रतिशत भन्सार लगाएको डोनल्ड ट्रम्प प्रशासनको निर्णय कार्यान्वयनमा टिप्पणी गर्दै चिनियाँ विदेश मन्त्रालयले यस्तो जनाएको हो।
पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन जियानले ‘यदि अमेरिकाको अरू कुनै मनसाय छ, र भन्सार युद्ध, व्यापार युद्ध वा कुनै पनि अन्य युद्ध लड्न जिद्दी गर्छ भने चीन अन्त्यसम्म लड्नेछ’ भनेका थिए।
उनले अमेरिकालाई दादागिरी छोडेर संवाद र सहकार्यको सही मार्गमा फर्कन पनि सुझाव दिएका थिए।
उनको सो प्रतिक्रिया परराष्ट्र मन्त्रालयका प्रवक्ताको हेण्डलबाट एक्समा पनि पोस्ट भएको थियो।
सो पोस्टलाई रिपोस्ट गर्दै अमेरिकामा रहेको चिनियाँ दूतावासले ‘यदि अमेरिकाले चाहेको युद्ध नै हो भने, चाहे भन्सार युद्ध होस्, व्यापार युद्ध होस् वा अरू कुनै खालको युद्ध होस्– हामी अन्त्यसम्म लड्न तयार छौं’ भनेर थपेको थियो।
योसँगै विश्व महाशक्ति दाबी गर्ने अमेरिका र विश्वको नयाँ पावर हाउस मानिएको चीन आमने सामने भएका छन्। यद्यपि ट्रम्पले रिसयाका राष्ट्रपति भ्लादीमर पुटिनलाई हातमा लिन सक्ने भ्रम पालेका छन्।
ट्रम्पले फेब्रुअरी ४ देखि लागू हुनेगरी चीनबाट आउने वस्तुमा १० प्रतिशत थप भन्सार महसुल लगाएका थिए। बर्सेनि दसौं हजार अमेरिकीको ज्यान लिने फेन्टनिल बनाउन चाहिने कच्चा रसायन लागुपदार्थको पैठारी गर्ने गिरोहलाई चीनले बेचेको आरोप लगाएर एक महिनाअघि थप १० प्रतिशत भन्सार लगाएका थिए।