सरकारले पठाएको रकमले २ महिनाको बीमा भुक्तानी गरिने
काठमाडौँ- सरकारले हालै विनियोजन गरेको ३ अर्ब रुपैयाँले स्वास्थ्य बीमा बोर्डले तिर्नुपर्ने दुई महिनाको बक्यौता भुक्तानी हुने भएको छ । स्वास्थ्य बीमा बोर्डका अनुसार उक्त रकमले यो आर्थिक वर्षको साउन र भदौको बक्यौता तिरिने भएको हो ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा स्वास्थ्य बीमाका लागि साढे ७ अर्ब बजेट विनियोजन गरेको थियो । उक्त रकम र थप बोर्डले संकलन गर्ने प्रिमियमबाट लगभग ४ अर्ब गरेर गत आर्थिक वर्षको बक्यौता तिरेको छ।
त्यसैगरी अर्थ मन्त्रालयले ज्येष्ठ नागरिकको उपचारलगायतका लागि ६० करोड रुपैयाँ र मुटु रोगका बिरामीलाई नि:शुल्क उपचारका लागि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई २४ करोड विनियोजन गरेको छ ।
बोर्डले हरेक वर्ष बढ्दो दायित्वले बक्यौता बढ्दै गएको विषयमा पटक पटक अर्थ मन्त्रालयमा पत्र पठाइरहेको छ । उक्त हिसाब अनुसार आर्थिक वर्ष २०८१/०८२ मा बीमाको भुक्तानी गर्नुपर्ने रकम १९ अर्ब पुग्ने अनुमान गरिएको छ ।
लामो समय बीमाले भुक्तानी दिन नसक्दा अस्पतालले सेवा रोक्ने गरेका छन् । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बजेट अभावमा अस्पताललाई भुक्तानी दिन नसक्ने बताउँदै आइएका छन् ।
सरकारले पछिल्ला वर्षमा वार्षिक स्वास्थ्य बीमाका लागि ७ अर्ब ५० करोड दिँदै आएको छ । तर यस वर्ष ४५ अर्बभन्दा बढी रकम भुक्तानी गर्नुपर्ने देखिएको बताइएको छ ।