Nic Ad Nic Ad
Nic Ad Nic Ad
नेपाल प्रहरी

नेपाल प्रहरीको अबको कमान्डः एक तिहाई आफू, दुई तिहाई सिपाही!

शुक्रबार, फागुन २३, २०८१

काठमाडौं– अर्को साता बितेको चौथो दिनमा नेपाल प्रहरीले नयाँ कमान्डर पाउने निश्चित छ। आफ्नो ३० बर्षको खारिएको अनुभव सँगालेर हालका प्रहरी महानिरिक्षक (आईजी) बसन्तबहादुर कुँवरले संगठनको जिम्मेवारी हस्तान्तरण गर्नेछन्।

samridhi jewllers

‘नेपाल प्रहरीको अबको कमान्डः एक तिहाई आफू, दुई तिहाई सिपाही’ किन? भन्ने प्रश्न आउन सक्छ।

यसबेला सदनमा रहेको प्रहरी ऐन यसको मुख्य कारक हो। यति मात्र होइन प्रहरीको इतिहासमा स्टाफ कलेजको व्यवस्था सुरु हुनु अर्को कारण हो। 

अब बन्ने आईजीका सामु संगठन निर्माणभन्दाको विकल्प नै छैन। यहि विकल्पको असल कार्यान्वयन नै अबको कार्यभार हुनेछ।

अमेरिकी १६ औं राष्ट्रपति अब्राहम् लिङ्कनले भनेका थिए,‘जब म तर्क गर्न तयार हुन्छु, म मेरो एक तिहाइ समय आफ्नो बारेमा र म के भन्न गइरहेको छु भन्ने बारेमा सोच्न र दुई तिहाइ समय उसको बारेमा र उसले के भन्न गइरहेको छ भन्ने बारेमा सोच्न बिताउँछु।’

१६ बर्षमा पेन्सनको व्यवस्था, मेरिटका आधारमा बढुवा, स्टाफ कलेज अनिवार्य कार्यान्वयन अब बन्ने आईजीका रोडम्याप बन्नेछन्, संगठनभित्र। 
संगठनबाहिरको परिदृश्यमा कुशल प्रहरी परिचालन, शान्ति सुरक्षा र अपराध नियन्त्रण त छँदै छन्। 

प्रहरी ऐनले जुन मर्मलाई सदनमा पेश गरेको छ यो पास भएको खण्डमा राजनीतिक हस्तक्षेपको ठूलो प्रहारबाट जोगिने अवसर पाउनेछ। 

यो कार्यान्वयनको चरणमा लैजाने जिम्मेवारी अब बन्ने आईजीको हुनेछ। यस ऐनले अब आफू मात्र माथि पुग्ने अवस्थालाई ढल्काउँदै सिपाहीका बारेमा सोच्नका लागि बाध्य पारेको छ।

तैपनि अब आउने नेतृत्व व्यावसायीक दक्षताले भरिपूर्ण मध्यका एक निर्विकल्प हुनेछन्।

सँघारैमा रहेको आईजी नियुक्तिको कौशलतामा छन् प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) दीपक थापा, टेक तामाङ र सुदीप गिरी।

खैर यो विषय मन्त्रिपरिषदको निर्णयका आधारमा हुनेछ। तर, कार्यकौशलता, कार्य सम्पादन र ज्येष्ठता यसका मानक हुन् र अब्बल को रहेका छन् भन्ने विषयमा केपी शर्मा ओली नेतृत्वको सरकारले उचित निर्णय गर्ने नै छ।

तीनै जनाको कौशलताको संक्षेप पनि यहाँ वर्णन गर्न आवश्यक छ।

प्रतिस्पर्धाको पहिलो नम्बरमा रहेका थापा फिल्ड कमाण्डमा अनुभवी मानिन्छन्। इन्स्पेक्टर हुँदा उनले बनेपा र गरुडाको कमाण्ड गरेका थिए। 

माओवादी युद्धकालमा इलाका प्रहरी कार्यालय मैकोटमा बसेका थापाले डीएसपी भएर दुई वर्ष खोटाङ जिल्लाको कमाण्ड गरे। प्रधानमन्त्रीको व्यक्तिगत सुरक्षा अधिकृत भएर काम गरेका उनले प्रहरी वृत्त महाराजगञ्जको पनि कमाण्ड गरेका थिए।

एसपी हुँदा थापाले चितवन जिल्लाको कमाण्ड गरे। प्रहरी प्रधान कार्यालयभित्र महत्त्वपूर्ण मानिने कर्मचारी प्रशासन शाखा र आर्थिक प्रशासन महाशाखामा काम गरेका थापाले अपराध महाशाखा (हाल काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय) को पनि कमाण्ड गरेका छन्। उनी २०७७ मा अपराध महाशाखाको प्रमुख भएका थिए।

डीआईजीमा प्रबन्ध निर्देशनालय र बागमती प्रदेश प्रहरी कार्यालयको कमाण्ड गरेको अनुभव पनि थापासँग छ। एआईजीमा उनले प्रशासन विभागको प्रमुख, उपत्यका प्रहरी कार्यालय रानीपोखरी र सीआईबीको कमाण्ड गरेका छन्।

वरीयताको दुई नम्बरमा रहेका गिरी सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश केदार गिरीका छोरा हुन्। कमाण्डो तालिम गरेका गिरीले डीएसपी हुँदा प्रहरी वृत्त कालिमाटीको कमाण्ड गरेका थिए।

एसपी हुँदा गिरीले पर्सा र कैलालीको कमाण्ड गरे। एसएसपी भएपछि उनले जिल्ला प्रहरी परिसर काठमाडौँको कमाण्ड गरे। डीआईजीमा बढुवा भएसँगै कोशी प्रदेश प्रहरी कार्यालयको प्रमुख भएका गिरीसँग विशेष ब्यूरोमा लामो समय काम गरेको अनुभव छ।

टेक बहादुर तामाङले इन्स्पेक्टर हुँदा गजुरी, सानेपा र लैनचौरमा बसेर काम गरेका थिए। डीएसपीमा उनले जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र खोटाङको कमाण्ड गरे। उनले प्रहरी वृत्त कालिमाटीको पनि कमाण्ड गरेका थिए।

एसपीमा बढुवा भएपछि उनले जिल्ला प्रहरी कार्यालय बाँकेको कमाण्ड गरे। डीआईजीमा बढुवा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी महाशाखामा काम गरेका तामाङले एआईजीमा लामो समय अपराध अनुसन्धान विभागमा बसेर काम गरे। हाल उनी उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रमुख हुन्।

विशेषताबिहिन कोही नभएका कारण अब मन्त्रिपरिषदले कार्य सम्पादन र मूल्याङ्कन मात्र होइन बढुवाको ज्येष्ठता पनि महत्वपूर्ण मापकका रुपमा लिन्छ नै होला। जे होस्, आगामी आईजीले नेपाल प्रहरीको कमान्डलाई कसिलो बनाउनेमा दुईमत छैन। 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १०:२५
प्रतिक्रिया दिनुहोस्